खोटाङका युवा उदयपुरमा मृत फेला

उदयपुर । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अश्विन राई उदयपुरमा मृत फेला पर्नुभएको छ । केही समयअघि मादक पदार्थ अत्यधिक सेवन गरेका अश्विन लड्दा टाउकाको भित्री भागमा चोट लागी गम्भीर घाइते हुनुभएको थियो ।

जिल्ला अस्पताल उदयपुरमा उपचार गरी घर ल्याउदै गर्दा राति पिसाव फेर्न जाने भन्दै गाडीबाट ओर्लिएका राई उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत कात्तिक २९ देखि सम्पर्कविहीन हुनुभएको थियो । सम्पर्कविहीन राईलाई आफन्तले लगातार पाँच दिन खोजी गर्दा पनि फेला पार्न नसकेर घर फर्किएका थिए।

बेपत्ता राईको शव हिजो हुरहुरे भन्ने ठाउँमा स्थानीयले घाँस काट्न जाँदा देखेपछि स्थानीय जनप्रतिनिधि र मृतकका आफन्त मिलेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो । उहाँको खोजीका लागि आफन्तले जिल्ला प्रहरी कार्यालय उदयपुरमा मंसिर २ गते जाहेरी समेत दिएका थिए।

Back to top button