आउने चुनावबाट एमालेको हैसियत देखिन्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको हालत आउने चुनावले देखाउने बताउनुभएको छ ।

नेकपा (मसाल) बाट विद्रोह गरेको समूहसँग एकीकरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी आगो हो र आगोसँग खेल्दा ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याइएको बताउनुभयो ।

आफुहरुसँग जोरी खोजेकै कारण उहाँले ६ वटै प्रदेशबाट मुख्यमन्त्री चैट बनाइएको बताउनुभयो । अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीले धाक–धम्की दिएर हिँडेको भन्दै त्यस्तो धम्कीको अर्थ नरहेको र आउने चुनावले हैसियत देखाइदिने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले विभिन्न जिल्लामा गएर ओलीले माओवादी र मधेशवादी दलका नेताहरूलाई एमाले प्रवेश गराइरहेको प्रति पनि कटाक्ष गर्नुभयो । पार्टी प्रवेशका नाममा अवसरवादीहरू गाउँ–गाउँमा सिला खोज्दै हिडेको भन्दै उहाँले सुनारको सय चोट लोहारको एकै चोट देखाइदिने चेतावनी समेत दिनुभयो ।

यस्तै अध्यक्ष प्रचण्डले गणतन्त्रलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताउनुभएको छ । उहाँले गत पुस ५ मा संविधान खारेज गर्ने र परिवर्तनलाई उल्ट्याउने मनसायले प्रतिगामी कदम चालिएको आरोप समेत लगाउनुभयो ।

प्रचण्डले नेकपा मसाल र आफुहरु मूलभूत रुपमा एउटै स्कुलका विद्यार्थी भएको भन्दै एकता दिगो हुने बिश्वास ब्यक्त गर्नुभयो ।

Back to top button