भारतसँग जोडिएको मधेस–प्रदेशको ८ वटै जिल्लाको सीमानाका भोली रातिदेखि बन्द हुँदै

जनकपुर । स्थानीय तहको निर्वाचनका लागि भारतसँग जोडिएको सीमानाका भोलि रातिदेखि बन्द हुने भएको छ । निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै भोलि राति १२ बजेदेखि भारतसँग जोडिएको मधेस–प्रदेशको ८ वटै जिल्लाको सीमानाका बन्द हुन लागेको हो ।

निर्वाचनलाई भयरहीत वातावरणमा सम्पन्न गर्नका लागि सीमानाकाहरु बन्द गर्ने निर्णय भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिनुभयो ।

बैशाख ३० मा हुने मतदानका लागि मंगलबार राति १२ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि सीमानाका बन्द हुने महोत्तरीका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो ।

यस्तै, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भारतसँग जोडिएको सप्तरीको सीमानाका बैशाख २७ गते राति १२ बजेदेखि बैशाख ३० गते राति १२ बजेसम्म बन्द रहने जानकारी दिनुभयो । उहाँले यसका साथै भोलि राति १२ बजे देखि निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नभएसम्मका लागि जिल्लामा मदिराको विक्री वितरण तथा सेवनमा पूर्ण रुपमा रोक लगाइएको बताउनुभयो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले केही दिन अघि नै नेपाल र भारतका सुरक्षा निकायकाबीच छलफल भएर निर्वाचनको ७२ घण्टा अघिदेखि भारतसँग जोडिएको सर्लाहीको सीमानाका बन्द गर्ने सहमति भएको बताउनुभयो ।

मधेस–प्रदेशको ८ वटै जिल्ला र भारतसँग खुल्ला सीमानाका रहेकाले सुरक्षालाई मध्यनजर गर्दै निर्वाचन भन्दा ७२ घण्टा अघि देखि सीमानाका बन्द हुन लागेको हो ।

यस्तै सुरक्षालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निर्वाचनको दिन सवारी साधन चलाउनमा रोक लगाएको छ । मतदानको दिन बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म एम्बुलेन्स, दम्कल, दुरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा, विद्युत सेवा जस्ता अतिआवश्यक सेवाका सवारी साधन तथा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त बाहेकका सार्वजनिक तथा निजी गाडी बन्द रहने जनाइएको छ ।

Back to top button