फूटबलका अन्तर्राष्ट्रिय पूर्वखेलाडी चुनावी मैदानमाः आफ्नो वडाको विकासका लागि हरसम्भव लागिरहने प्रतिवद्धता

विराटनगर । नेपालको प्रतिनिधित्व गर्दै विभिन्न देशमा फूटबल खेलेर देशको नाममा ताली खानुभएका कुमार महर्जन यसपटकको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवार बन्नुभएको छ ।

विराटनगर १६ मा वडा अध्यक्षको उमेदवार बन्नुभएका महर्जन कुनै बेला पूर्वाञ्चलकै लागि गौरवका खेलाडी हुनुहन्थ्यो । उहाँका समकक्षी कानुन ब्यवसायी तथा नेता राजेश सुब्बा भन्नुहुन्छ,‘मं खेलाडी हुन सकिंन तर, साथी भएकाले उसको खेल हेर्नकै लागि नेपालका विभिन्न ठाउँ र भारतको सिलिगुडीसम्म पुगेको छु ।’

महर्जनले थाइल्याण्ड र वंगलादेशमा गएर पनि लिग खेल्नुभएको छ । पुलिस क्लवबाट विदा लिएर उहाँले भारतका विभिन्न क्लबमा खेल्न पुग्नुहुन्थ्यो । त्यस बेला नेपालको जागिरको तलबभन्दा भारतबाट खेलेर कमाएको रकम धेरै हुन्थ्यो ।

तात्कालिन कोशी अञ्चलको उत्कृष्ट खेलाडी भएकैले पुलिस क्लबको खेलाडी बनेर नेपाल प्रहरीको जागिरे हुनुभएका महर्जनले सेवा अवधि पूरा नगरी प्रहरी नायव निरीक्षकबाट अवकाश लिनुभएको थियो ।

खेलपछिको प्रहरीको जागिरमा उहाँलाई त्यत्ति चाहना नभएकाले जनताको सेवा गर्न अवकाश लिनुभएको थियो । नेपाल फुटवल संघका केन्द्रीय नेता वसन्त अर्यालका अनुसार, पूर्वाञ्चलबाट खेल्दापनि महर्जन उत्कृष्ट खेलाडीका रुपमा गनिनुहुन्थ्यो ।

विराटनगरको सीमावर्ति क्षेत्र मिल्स एरियामा चर्चित ब्यक्ति भएकाले महर्जनलाई नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवार बनाएको सुब्बाले बताउनुभयो । प्रहरी क्लबबाट फुटवल खेल्दा उहाँ ११ नम्बरको जर्सी लगाउनुहुन्थ्यो । उहाँपछि हरि खड्काले सोहि नम्बरको जर्सी लगाउनुभएको थियो ।

प्रहरी क्लबमा रहँदापनि भारतको सिलिगुडीबाट १० वर्ष लिग खेल्नुभएका महर्जन अहिले दर्जन बढी संस्थामा नेतृत्व गरिरहनुभएको छ । मिल्स गोल्डकप ट्रष्ट, पूर्व सैनिक तथा प्रहरी संगठन, विराट भजन समूह, राम जानकी मन्दिर, संयुक्त टोल संगठन, साइनो स्पोर्टस क्लव, विराट फुटवल ट्रष्ट, मिल्स माबि विद्यार्थी समुहमा रहेर उहाँले बिभिन्न क्षेत्रमा सेवाको काम गर्दै आउनुभएको छ ।

वडाध्यक्ष जितेर जनतालाई हुनै नसक्ने आश्वासन दिने भन्दा पनि गर्न सक्ने कामका लागि मात्रै आफुले वचन दिएको मर्हजनले बताउनुभयो । पुलिस क्लब छाडेर २०५२ सालमा प्रहरी तालिम केन्द्र रानी आउनुभएका उहाँ १५ वर्षभन्दा बढी खेल विभागको प्रमुख भएर जिम्मेवारी सम्हाल्नुभयो ।

त्यसैक्रममा मध्य रातमा सुरक्षा गर्न गस्तीको नेतृत्व गर्दै उहाँ सीमावर्ति क्षेत्रमा हिड्नुहुन्थ्यो । अहिले सोही क्षेत्रमा भोट माग्दै गर्नुभएका महर्जन अरुले जस्तो झूटो आश्वासन नदिएर सक्ने कुराको बाचा गरेर मतदातासंग भोट माग्दै आउनुभएको हो । महर्जन भन्नुहुन्छ,‘वडा र वडाबासीको आवश्यकता मैले राम्ररी बुझेको छु, आफ्नो वडाका विकासका लागि हरसम्भव सबै प्रयत्न गर्छु ।’

Back to top button