स्थानीय निर्वाचनका कारण देशभरका विद्यालय ६ दिनका लागि बिदा

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै आजबाट देशभरका विद्यालय लगातार ६ दिनका लागि बन्द भएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मतदान केन्द्र कायम भएका विद्यालय वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द रहने जानकारी दिएको छ।

३१ गते शनिबार परेको छ भने जेठ १ गते सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू हुनेछ। २ गते बुद्ध जयन्ती परेको छ। निजी विद्यालयहरू पनि आजबाट अधिकांश बन्द भएका छन्।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय अध्यक्ष डिके ढुंगानाले आजबाट ६ दिनसम्म विद्यालय बन्द हुने जानकारी दिनुभयो। उहाँले भन्नुभयो,‘सबै ठाउँका विद्यालय बन्द नहुन पनि सक्छन,तर उपत्यकाको सबै बन्द हुन्छ,अब जेठ ३ गतेदेखि मात्रै खुल्छ।’

उहाँका अनुसार भोट दिनका लागि अभिभावकहरू छोराछोरी लिएर गाउँ पुगेका छन्। त्यही कारण विद्यालय बन्द गर्नुपरेको हो। निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विद्यालय, खाली स्वास्थ्य चौकीलगायत स्थानमा २१ हजार ९ सय ९५ मतदान केन्द्र तोकेको छ।

Back to top button