महामारीपछि नेपालबाहिर दुबइमा प्रस्तुत हुँदै नेपथ्य

काठमाडौं । महामारीको लामो छायाँकालपछि पहिलो विदेश यात्रा गर्न नेपथ्य दुबइ जानलाग्नुभएको छ ।

आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) नेपथ्य ब्याण्ड दुबइमा तेस्रो पटक प्रस्तुत हुँदैछ । चाडपर्वको बेला आफन्तबाट टाढा रहेका नेपाली दाजुभाइलाई दशैं, तिहार र छठको संगीतमय कोशेलीसहित नेपथ्य दुबइ जान लाग्नुभएको हो ।

विश्व बजारकै महत्वपूर्ण थलो बन्दै गइरहेको दुबइ शहर नेपाली कामदारको प्रमुख गन्तब्य मुलुकमध्येको युनाइटेड अरब इमिरेट्सको व्यापारिक केन्द्र पनि हो । यस पटक नेपथ्यले दुबइको ‘अल नासेर लिजरल्याण्ड’मा प्रस्तुती गर्नुहुनेछ ।

‘आइस स्केटिङलगायत सांगीतिक कार्यक्रम स्थलको रुपमा चिनिने उही स्थलमा प्रस्तुत हुनेगरि यसपटक हामी फेरि पुरै जोश र जाँगरका साथ दुबइ आउँदैछौं,’ ब्याण्डका मुख्य गायक अमृत गुरुङले भन्नुभयो, ‘श्रोता दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीत यसपटक प्राथमिकतामा परेका छन् ।’

कोरोना महामारीपछि जुर्मुराउँदै गरेको यो शहरमा हालै सम्पन्न छ महिना लामो ‘दुबइ एक्स्पो’का कारण विश्वभरका १ सय ९२ मुलुकबाट दुई करोड ४० लाख सहभागीले भ्रमण गरेका थिए ।

नेपथ्यको प्रस्तुती कर्मभूमि दुबइमा हेर्न पाउने भएपछि त्यहाँका नेपालीले पनि खुसी व्यक्त गरेका छन् । ६ वर्षदेखि एयर अरेबियाको जहाज उडाउँदै आउनुभएका पाइलट आयुष मान डंगोलले नेपथ्यको आगमनले नेपालीमाझ दुबइमा हलचल ल्याउने बताउनुभयो ।

बिरानो मुलुकमा आफूलाई नेपाली हुँ भनेर गर्व गर्ने थोरै अवसरमध्ये नेपथ्य प्रस्तुत हुँदाको क्षण पनि बन्ने गरेको आयुषको अनुभव छ ।

यो कन्सर्टको टिकट दुबइ लगायत आसपासका छेत्रहरुमा समेत उपलब्ध गराइएको छ । स्थानीय आयोजकका अनुसार दुबइमा हुने नेपथ्य कार्यक्रमको टिकटको मूल्य ५० तथा १०० युएइ दिराम राखिएको छ ।

कार्यक्रममा सँधैजस्तै अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनुहुने छ । आगामी नोभेम्बर ६ तारिखमा हुने कार्यक्रमका लागि नेपथ्यको टोली नोभेम्बर ३ तारिख त्यसतर्फ प्रस्थान गर्ने तयारीमा जुटेको छ ।

Back to top button