
काठमाडौं । गायक प्रमोद खरेल र बादल थापालाई लेबनानको अध्यागमनले नियन्त्रणमा लिएर छाडेको छ । सांस्कृतिक कार्यक्रमका लागि साइप्रस हिंडनुभएका उहाँहरुलाई अध्यागमनले २० घण्टा नियन्त्रणमा लिएको हो ।
उहाँहरुको भिसामा शंका लागेपछि राजधानी बेरुतस्थित रफिक हरारी विमानस्थल अध्यागमनका कर्मचारीले हिजो राति नियन्त्रणमा लिएका थिए ।
उहाँहरु साइप्रस नपुग्दा त्यहाँ नेपाली समुदायले आयोजना गरेको कल्चरल म्युजिक प्रोग्राम इन साइप्रस स्थगित भएको छ । कोष ओभरसिज प्रालि र एसएम इभेन्ट इन्टरटेनमेन्ट एण्ड ट्राभल सोलुसनले कार्यक्रम आयोजना गरेको थियो ।
आयोजकमध्येका केही व्यक्तिले कार्यक्रम रोकिएकोबारेका खबरलाई फेसबुकमा पनि सेयर गरेका छन् । अध्यागमनले रोकेपछि केही दिनमा आफूहरु नेपाल फर्किन लागेको गायक थापाले बताउनुभयो ।