
विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा आजदेखि ऐतिहाँसिक सीएनआई कोसी एक्स्पो २०७९ सुरु हुँदैछ ।
१० दिनसम्म चल्ने एक्स्पोको आज भव्य समारोहका बीच पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
एक्स्पो स्थलमा राखिएका करीव चार सय स्टलहरुमा उद्योगी व्यवसायीहरुले आफ्ना उत्पादनको प्रवर्धन र विक्री वितरणको तयारी गरिरहेका छन् । उद्घाटनलाई भव्यता प्रदान गर्न प्रमुख सल्लाहकार महेश जाजुले विशेष कार्यक्रम तयार पारिएको बताउनुभएको छ ।
उद्घाटनलाई अविस्मरणिय बनाउन कुनैपनि कसर बाँकी नराखिने उहाँले बताउनुभयो । उद्घाटनमा बटुकहरुद्वारा स्वस्तिक बाचनदेखि शान्तिका दुतका रुपमा १३ वटा परेवा र बेलुन उडाउनेसम्मका कार्यक्रम राखिएका छन् ।
आयोजक समितिका सवै पदाधिकारीहरुले अनिवार्य रुपमा दौरा सुरुवाल लगाएर कार्यक्रममा उपस्थिति जनाउने छन् । उद्घाटन अघि मध्यान्न १२ बजे विराटनगरको ट्राफिक चोकबाट सवै जातजातीको परम्परा र साँस्कृतिक पहिचान झल्किने पोषाकमा झाँकीसहितको र्याली पनि निकालिने एक्स्पोको सचिवालयले जनाएको छ ।
महिलाको समुहले पञ्चेबाजा बजाएर झाँकीको सूरुवात गरिने जनाइएको छ । झाँकीमा नेपाल पुलिसको ब्याण्डसहित थारु, झाँगड लगायतका जातजातीको समुह सहभागी हुने सीएनआई प्रदेश १ अध्यक्ष भीम घिमिरेले बताउनुभयो ।
एक्स्पोको प्रचारका लागि नेपाल उद्योग परिसंघ अन्तरगतको युवा उद्यम च्याप्टरको समन्वयमा हिजो पनि मोटर र्याली निकालिएको थियो ।