आज स्ववियु निर्वाचन हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आङ्गिक, सम्बन्धन प्राप्त क्याम्पसहरुमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदै छ ।

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीका अनुसार बिहान ८ देखि अपराह्न ४ बजेसम्म विद्यार्थीले आफ्नो प्रतिनिधि चयन गर्न सक्नेछन् ।

समन्वय समितिले निर्वाचन सम्पन्न नहुन्जेलसम्म विद्यार्थी, कर्मचारी, प्राध्यापक सबैलाई जिम्मेवार भएर आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।

स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी सङ्गठनसम्म उत्साही भएका छन् ।

यस्तै, देशभरिका त्रिविका ६२ आङ्गिक क्याम्पस र १ हजार ४० क्याम्पसमा एकैदिन हुने निर्वाचनले मुलुक स्ववियु निर्वाचनमय भएको छ । विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यान्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन हुँदै आएको छ ।

स्ववियु निर्वाचन २०६५ सालदेखि यता नियमित हुन सकेको छैन ।

Back to top button