
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ । आजको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका ३८ सांसदले विश्वासको मत दिएका हुन् ।
मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मत मात्रै परेको छ । उहाँले राप्रपा बाहेक सबै दल र स्वतन्त्र सांसदको समेत मत प्राप्त गर्नुभएको हो ।
शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र (देवराज शाही) एकजना सांसदले शर्माको पक्षमा मत हाल्नुभएको हो ।
मुख्यमन्त्री शर्माले यसअघि ६ माघमा एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गर्नुभएको थियो । राप्रपाले समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिनुभएको हो ।
उहाँ गत पुस २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । शर्मालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदले समर्थन गरेका थिए ।