उद्योग क्षेत्रमा देखिएका समस्या समाधानका लागि तत्काल पहल हुन्छः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङ्गको समस्या समाधानका लागि आफ्नो तर्फबाट तत्काल पहल सुरु गर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा कोशी प्रदेशका उद्योग सङ्घ र सङ्गठनका प्रतिनिधिहरुसँगको छलफलमा उहाँले सङ्घीय उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणका निर्देशकसँग तत्काल कुरा गरेर समस्या समाधानको पहल गर्ने बताउनुभएको हो ।

उहाँले उद्यमीहरुले लिएको ऋणको व्याज दर घटाउने सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरसँग आफ्नो कुरा भएको स्मरण गराउँदै पुनः यस सम्बन्धमा उद्यमीहरुको टोलीसँग सङ्घीय सरकारका अर्थमन्त्री र राष्ट्र बैकका गभर्नरलाई छलफल गराउने विश्वास दिलाउनुभयो ।

छलफलमा बोल्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘उद्योग व्यवसाय क्षेत्रका कुन–कुन नीतिलाई प्रथामिकता दिनुपर्ने र के कस्ता नीति निर्माण गर्दा तपाईहरुका समस्या समाधान हुन्छन, बजेट निर्माणका क्रममा सुझाव दिनु होस ।’

उहाँले मुलुकले सरकारी, निजी र सहकारी क्षेत्रलाई अर्थतन्त्रको मुल आधार मानेको स्मरण गराउँदै अहिले सहकारी क्षेत्र धाराशाही भएको तथा निजी क्षेत्र पनि कमजोर हुँदै गएकाले हाम्रो अर्थतन्त्र कमजोर हुने अवस्थामा पुगेको बताउनुभयो ।

राष्ट्रिय पुँजीको पर्याप्त विकास नभइ समाजबादमा पुग्न नसकिने भन्दै मुख्यमन्त्री कार्कीले छिमेकी मुलुकको कच्चा पदार्थबाट सञ्चालन हुने ठूला तथा मझौला उद्योगहरुको समस्या समाधानमा उचित व्यवस्थापन गर्न प्रदेश सरकार तयार रहेको जानकारी गराउनुभयो ।

छलफलमा उद्योग सञ्चालनको क्रममा देखिने विभिन्न समस्या समाधानका लागि प्रदेश सरकारको क्षेत्रअधिकार भित्र पर्ने कार्यलाई आवश्यक विधिविधान बनाउने तथा सङ्घीय सरकार समक्ष समेत आवश्यक पहल गर्ने मुख्यमन्त्री कार्कीले प्रतिवद्धता व्यक्त्त गर्नुभयो ।

उहाँले नीजि क्षेत्र वलियो, सुदुढ र चिन्ता मुक्त भएमात्र मुलुकको आर्थिक विकास एवं समृद्धि सम्भव हुने भन्दै यसप्रति आफू सचेत रहेको बताउनुभयो ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष राजेन्द्र राउतले उद्यमीले उद्योग बन्द गर्न चाहेमा त्यसको वातावरण मिलाइदिन अनुरोध गर्दै सरकारले निर्माणाधिन पूर्वाधारहरुलाई चाँडै सम्पन्न गराउन आवश्यक पहल गर्नुपर्ने सुझाव दिनुभयो ।

उद्योग सङ्घठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले विद्युत प्राधिकरणले उद्योग क्षेत्रमा नियमित विद्युत आपूर्ति गर्नुपर्ने वा लोडसेङ्गिको तालीका सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

होटल संघ कोशीका राजन श्रेष्ठले यस क्षेत्रमा पर्यटक आवागन वृद्धिका लागि विराटनगरबाट लुक्ला हवाई सेवा सञ्चालन गर्न पहल गर्नुपर्ने बताउनुभयो ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले राज्यबाट उद्यमीहरुले कुनै सहयोग नपाएको कारण युवाहरु उद्योग व्यवसाय क्षेत्रमा आउन डराइरहेको बताउनु भयो ।

नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष भीम घिमिरे ,संघका पूर्व अध्यक्षद्वय पवन शारडा र प्रकाश मुन्दडा, विराट व्यापार संघका अध्यक्ष नरेश खत्री लगायतले बैंकले निक्षेपमा व्याज घटाए अनुसार ऋणमा घटाउनु पर्ने, भन्सार मूल्याङन समायोजन गरी सीमा क्षेत्रको नेपाली बजार गुलजार बनाउन आवश्यक पहल गर्नुपर्ने सुझाव दिनुभयो ।

Back to top button