मुलुकलाई आर्थिक र राजनैतिक अराजकताबाट बाहिर निकाल्न आवश्यक छः डा. शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनैतिक अराजकताबाट बाहिर निकाल्न आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैउहाँले अहिले मुलुकमा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकता बढ्दै गएको बताउनुभयो ।

यस्ता अराजकताबाट बाहिर निकाल्न सकेमात्रै मुलुक सही बाटोबाट अगाडि बढ्ने भन्दै नेता कोइरालाले अराजकता नियन्त्रणमा लिन नसके मुलुक असफल राष्ट्र हुन सक्ने चेतावनीसमेत दिनुभयो ।

ज्येष्ठ नागरिकले समाजको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै उहाँले ज्येष्ठ नागरिकको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई समाजले अनुशरण गरे समाज समृद्ध कोइरालाले बताउनुभयो । कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री केदार कार्कीले पुस्तान्तरण भएमात्रै ज्येष्ठ नागरिकका ज्ञान, अनुभव र सीप नयाँ पुस्ताले ग्रहण गर्ने बताउनुभयो ।

अघिल्लो पुस्ताले प्राप्त गरेका ज्ञान र अनुभव युवापुस्ताले ग्रहण नगर्ने गरेको नेता कार्कीको भनाई छ । विराटनगर महानगरपालिकाका पूर्वमेयर तथा प्रदेशसभा सदस्य भीम पराजुलीले अहिले ज्येष्ठ नागरिकहरु सन्तान र आफन्तबाटै अपहेलित हुनु परेको बताउनुभयो ।

घरपरिवारबाट अपहेलित भएका ज्येष्ठ नागरिकहरुलाई ज्येष्ठ नागरिक सेवा केन्द्रमार्फत सेवा दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले समाजसेवी चिरञ्जीवी दाहालले निःशुल्क रुपमा ८ धुर जग्गा दिएपछि भवन निर्माणको बाटो खुलेको बताउनुभयो ।

उहाँले भवनको अर्को तला थपेर संग्राहालय र पुस्तकालय निर्माण गर्ने योजना रहेको सुनाउनुभयो । त्यसका लागि सहयोग गर्न गर्न संघीय र प्रदेश सांसदहरुलाई आग्रहसमेत गर्नुभयो ।

कार्यक्रममा ज्येष्ठ नागरिक वडा कार्यसमितिका अध्यक्ष ललित श्रेष्ठ, सचिव अर्जुन भट्टराई, सूचना अधिकारी इन्द्रप्रसाद खतिवडा, समाजसेवी शोभा कोइरालालगायतले बोल्नुभएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक भवन निर्माणमा सहयोग गर्ने पूर्वमेयर पराजुलीलाई सम्मान गरिएको छ ।

Back to top button