नेप्सेमा आज सामान्य वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको अन्तिम कारोबारकोे दिन आज सेयर बजारमा सामान्य वृद्धि भएको छ ।

दिनभर जसो थपघट भइरहेको बजार अन्तिममा ५ अंकले बढेर २०४२ दशमलव ०७ विन्दुमा रोकियो । आज सेयर बजारमा ० दशमलव २५ प्रतिशतको वृद्धि हुँदा कारोबार रकम भने मंगलबार र बुधबारको तुलनामा घटेको छ ।

आज २७० धितोपत्रको ५२ हजार ८१४ वटा कारोबारबाट ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँको भएको छ ।

उपसूचकहरुमा समेत मिश्रित नतिजा आएको छ । आज होटल र पर्यटन उपसूचकका लगानीकर्ताले सबैभन्दा धेरै (४ दशमलव ५६ प्रतिशत)ले कमाएका छन् । यसदिन सिटी होटलको कारोबार सकारात्मक सर्किटमा भएको छ ।

यसको मूल्य प्रतिकित्ता १७८ दशमलव ७० रुपैयाँ पुगेको छ । अभियान लघुवित्त, वीपीडब्लू लघुवित्त, कालिका लघुवित्त, सोल्टी होटलसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।

यस्तै, भूगोल इनर्जी, मल्टीप्रपोज फाइनान्स, मिर्मिरे लघुवित्त, साधना लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । शिवम् सिमेन्ट, सोल्टी होटेल, नेपाल लाइफ इन्स्योरेन्ससहितका कम्पनीको कारोबार धेरै भएको छ ।

Back to top button