अझै सुरु भएन,एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र

काठमाडौं । काठमाडौंमा सोमबारबाट सुरु भएको नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन ।नेपाल प्रज्ञा प्रतिष्ठानको भवन कमलादीमा बिहान ७ः३० बाट हुने भनिएको बन्दसत्र अझै सुरु हुन नसकेको हो ।

पहिलो अधिवेशन भएको र नेतृत्व चयनको सन्दर्भमा विभिन्न बैठकहरू जारी रहेको कारण बन्दसत्रको औपचारिक ‘सेसन’ सुरु हुन नसकेको हो । बन्दसत्रमा सहभागी हुन प्रतिनिधिहरू कमलादी परिसरमा जम्मा भैसकेका छन् । तर उनीहरू अझै बन्द सत्र कतिबेला सुरु हुने हो भनेर पर्खनुपरेको छ ।

बन्दसत्रको विषयमा जानकारी दिँदै संविधानसभा सदस्य एवं मकवानपुरे नेता अनन्तप्रसाद पौडेलले आफूहरु बन्दसन्त्रको प्रतीक्षामा रहेको बताए । सहमतिको लागि नेताहरूको लागि परेको सुन्नमा आएको बताउँदै पौडेलले सहमतिको सम्भावना भने न्यून बन्दै गएको बताए ।हालसम्म अध्यक्षको लागि एमाले केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, कैलाशप्रसाद ढुंगेल, एमालेका पूर्व पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ, चितवनका एमाले नेता कृष्णभक्त पोखरेल तथा एमालेका वर्तमान प्रदेश अध्यक्ष केशवप्रसाद पाण्डेको नाम चर्चामा छ ।

उपाध्यक्षको लागि एमाले मकवानपुरका नेता अनन्तप्रसाद पौडेल, चितवनका दावा लामा,दोलखाका ईश्वर चन्द्र पोखरेल,काभ्रेका कुमार खकुरेल लगायतको चर्चा छ । अधिवेशन उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर उम्मेदवारी दर्ता गरे खारेज हुने चेतावनी दिएपछि अहिले प्रत्याशी नेताहरू एकल उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन् ।

सहमति हुन नसकेको अवस्थामा विद्युतीय मतदान हुने कार्य तालिका रहेको प्रदेश कमिटीले बताएको छ । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय कमिटी चयन गर्ने छ ।

Back to top button