मूनलाईट होस्टेल प्रकरण: विद्यार्थीको आशंका, पिडकलाई प्रशासनको संरक्षण

विराटनगर । विराटनगर-८ स्थित मूनलाईट गर्ल्स होस्टल संचालकलाई प्रहरीले पक्राउ गरेपनि उल्टै संरक्षण दिइरहेको विद्यार्थीहरूले आरोप लगाएका छन् ।

२९ फागुनमा होस्टल संचालक मधु रेग्मीले विद्यार्थीहरू माथी अग्रिम पैसा माग्दै अभद्र ब्यबहार गरेको भिडियो सार्वजनिक भएको थियो । उक्त घटना सार्वजनिक भएपछी विराटनगर नर्सिङ क्यापसको स्ववियू लगायतका विभिन्न संगठनको अगुवाईमा संचालकलाई पक्राउ गरि कारवाही गर्ने दवाव दिएका थिए ।

सर्वत्र आलोचना भएपछी प्रहरीले रेग्मीलाई नियन्त्रणमा लिएर अभद्र ब्यबहारमा मुद्दा चलाएको छ । प्रहरी नियन्त्रणमा आएसँगै अस्वस्थ भएको भन्दै कोशी अस्पतालमा भर्ना हुनुभएकी रेग्मीलाइ त्यहाँबाट पनि मोरङ सहकारी अस्पतालमा रेफर गरिएपछी विद्यार्थीहरू सशंंकित भएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै उनीहरूले दुई दिन अघि त्यस्तो व्यवहार गर्ने मान्छेलाई एकाएक विरामी भन्दै अस्पताल भर्ना गर्नु आँखामा छारो हाल्न मात्रै खोजिएको त हैन ? भन्दै आशंका ब्यक्त गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै स्ववियु अध्यक्ष प्रशंसा पौडेलले विशेषज्ञ चिकित्सकको परामर्श विना रेफर गर्नु, भाईटल रिपोर्टहरू सबै सामान्य देखिनुले आशंका उत्पन्न भएको बताउनु भयो । ‘पिडक विरामी नै भए डाइग्नोशिस होस, कुन चिकित्सकले उपचार गर्नुभएको हो स्पष्ट खुलोस, अध्यक्ष पौडेलले भन्नुभयो, कतै मिलेमतोमा घटनालाई सामान्यकरण गर्न त खोजिदै छैन ? हाम्रो आशंका छ ।’ यदि त्यस्तो भए आफूहरू कडा आन्दोलनमा उत्रने उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा अनेरास्ववियुका केन्द्रीय सदस्य जोसेफ घिमिरेले प्रशासन पिडक पक्षमा लागे कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, विश्वास छ निष्पक्ष छानबिन हुन्छ, तत्काल त्यो विश्वास नदिलाए हामी कडा आन्दोलनमा उत्रन्छौं ।’

यस्तै महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष जसवन्त पौडेलले विद्यार्थीको समस्यामा फरक क्याम्पस भएपनी साथ दिने बताउनुभयो ।

Back to top button