त्रिविमा रजिष्ट्रार र रेक्टरका लागि आवेदन माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले रजिष्ट्रार र रेक्टर पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।

त्रिविका उपकुलपति प्रा.डा.केशरजंग बरालले सूचना जारी गर्दै रजिष्ट्रार र रेक्टरका लागि इच्छुक प्राध्यापकहरूले ७ दिनभित्र बायोडाटा बुझाउन अनुरोध गर्नुभएको छ ।

उपकुलपतिले जारी गरेको सूचनाअनुसार इच्छुक प्राध्यापकहरूले आजदेखि ७ दिनभित्र उपकुलपतिको इमेल ठेगानामा आफ्नो बायोडाटा बुझाउनुपर्नेछ ।

यी दुई पदमा उपकुलपतिले सिफारिस गरेको व्यक्तिलाई कुलपतिले नियुक्ति गर्ने व्यवस्था छ ।

गत १२ पुसमा रजिष्ट्रार पेशल दाहालको कार्यकाल पूरा भएको थियो । त्यसपछि रिक्त पदमा १८ पुसदेखि कानुन संकायका डीन डा.कृष्णप्रसाद बस्याल निमित्त रजिष्ट्रार नियुक्त हुनुभएको थियो ।

यसअघि रेक्टर रहनुभएका प्रा.डा.शिवलाल भूसालको कार्यकाल भने ६ चैतमा पूरा हुँदै थियो । तर,भूसाल निमित्त उपकुलपति भएपछि रिक्त रेक्टर पदमा निमित्त उपकुलपति भूसालले कृषि तथा पशुविज्ञान संकायका डीन प्रा.डा.भार्गव धिताललाई निमित्त रेक्टरको जिम्मेवारी दिनुभएको थियो ।

Back to top button