प्रधानमन्त्री, एमाले अध्यक्ष र गृहमन्त्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । विशेषगरी गृहमन्त्री लामिछानेमाथि नेपाली कांग्रेसले छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएकोबारे छलफल भएको हो ।

बजेट निर्माण प्रक्रिया, प्रदेश सरकार, विश्वविद्यालय लगायतका विषयमा साझा धारणा बनाउनेगरी उहाँहरूबीच छलफल भएको एक स्रोतले बताए ।

सरकारले आगामी वैशाख २८ गते बजेट अधिवेशन बोलाएको छ । सो अधिवेशन सुरु हुनुअघि नै एकखालको सहमति जुटाउनेगरी प्रधानमन्त्री प्रचण्डले पहल गरिरहनु भएको छ ।

शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा पनि प्रधानमन्त्री प्रचण्डले यसबारे ब्रिफिङ गर्नुभएको थियो । बैठकमा सहभागी एक सांसदका अुनसार, पार्टीमा छलफल गरेपछि मात्रै सत्ता गठबन्धन र प्रतिपक्षी दलका नेताहरूसँग छलफल हुने उहाँले बताउनुभयो ।

Back to top button