बागमतीका मुख्यमन्त्री अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ हुनुभएको छ । उहाँलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदै छ ।

रामेछापको मन्थली ३ मा खानेपानी आयोजना उदघाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि उहाँलाई बीच बाटोबाटै काठमाडौं ल्याउन लागिएको हो ।

रामेछापको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा प्रेसर लो र अक्सिजनको लेभल कम देखिएपछि उहाँलाई हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो ।

उहाँ अहिले सिन्धुलीको आत्मीय सामुदायिक अस्पतालमा उपचाररत हुनुहुन्छ । ‘डाक्टरहरुले पल्स र अक्सिजन एकदमै कम छ, काठमाडौं लैजानुस् भन्नुभएकाले हेलिकप्टर मगाइएको छ,’ स्रोतले भन्यो ।

मुख्यमन्त्री जम्मकट्टेलले आज बिहानैदेखि असहज महसुस भएको बताउनुभएको थियो । तर, पूर्वनिर्धारित कार्यक्रममा जान भनेर गाडीबाट उहाँ रामेछाप प्रस्थान गर्नुभएको थियो । सिन्धुली पुग्नुभएका बेला गाडीभित्रै बान्ता भएको र अडिन नसक्ने भएपछि उहाँलाई अस्पताल लगिएको थियो ।

Back to top button