हिंसा रोक्न विराटनगर महानगरद्वारा परिवार संवाद कार्यक्रम सञ्चालन गरिदै

विराटनगर । विराटनगर महानगरपालिकाले लैंगिक हिंसा रोकथामका लागि परिवार संवाद कार्यक्रम सञ्चालन गरेको छ । महानगरले विराटनगर वडा नम्बर ८ सुकुम्बासी बस्तीमा पहिलो कार्यक्रमको आयोजना गरेको हो ।

महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीको उपस्थितिमा आज परिवार संवाद कार्यक्रमको थालनी गरिएको छ । सामान्य विषयलाई लिएर श्रीमान–श्रीमतीबीच हुने विवाद र झगडा न्यूनीकरण गर्ने उद्देश्यले महानगरले साझा सवालका लागि साझा मञ्च (कोकन)सँगको सहकार्यमा परिवार संवाद सञ्चालन गरेको हो ।

यसरी परिवार संवाद आयोजना गर्दा श्रीमान–श्रीमतीबीचको सम्बन्ध सुमधुर भई परिवारमा शान्ति छाउने उपमेयर कार्कीको भनाइ छ । पछिल्लो समय सामान्य विषयलाई लिएर पनि सम्बन्धविच्छेदका घटना बढ्दै जानुका साथै परिवारमा हिंसासमेत हुने गरेको पाइएको छ । यस्ता कार्यक्रमले लैंगिक हिंसा न्यूनीकरण हुनुका साथै परिवारमा हुने बेमेलसमेत कम हुने उपमेयर कार्कीको भनाइ छ । उपमेयर कार्कीले परिवार संवादलाई अझै व्यापक बनाउँदै लगिने बताउनुभयो ।

श्रीमान र श्रीमतीलाई बेग्लाबेग्लै राखेर सम्झाउनुका साथै दुवैजनाको दायित्वका विषयमा समेत जानकारी गराउने गरेको कोकनकी अध्यक्ष मञ्जिता उपाध्यायले जानकारी दिनुभयो। कार्यक्रम सञ्चालनपछि परिवारमा सुमधुर सम्बन्ध भई सम्बन्धविच्छेदमा कमी आउने, एकअर्काको भावना बुझ्ने, मदिरा सेवन गर्ने क्रममा कमी आउने, दुव्र्यसनीमा नफस्ने, आर्थिक बोझ कम हुने र लैंगिक विभेद न्यूनीकरण हुने उहाँको भनाइ थियो ।

आर्थिक अभाव, वैदेशिक रोजगारी, मदिरा सेवनलगायतका कारणले परिवारमा समस्या देखिने गरेको कोकनका सल्लाहकार अधिवक्ता कोषराज न्यौपानेले बताउनुभयो । यस्ता कार्यक्रमले श्रीमान–श्रीमती मात्रै नभएर परिवारबीचको सम्बन्ध सुमधुर भई सुखी र खुसी पारिवारिक जीवन व्यतीत गर्न सहयोग पुग्ने न्यौपानेले दाबी गर्नुभयो । वडाध्यक्ष राम पोखरेलले कार्यक्रम सञ्चालनपछि वडामा पारिवारिक विवाद कम हुने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै, विराटनगर वडा नम्बर ८ मा ३५ जोडीलाई बेग्लाबेग्लै राखेर १० पटक कार्यक्रम सञ्चालन हुने कोकन मोरङका फिल्ड सुपरभाइजर अशोक थापा मगरले जानकारी दिनुृभयो । त्यसपछि ३५ जोडीमध्येबाटै श्रीमान–श्रीमती दुवैजनासहित परिवारका अन्य दुई सदस्यलाई राखेर दुई चरणमा परिवार संवाद कार्यक्रम पनि सञ्चालन गरिने बताउनुभयो ।

Back to top button