सदनलाई सहजरूपमा सञ्चालन गर्ने दायित्व राजनीतिक दलको पनि हो : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले आह्वान गरेको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन भएको छ ।

सिंहदरबारमा आज बसेको बैठकमा कांग्रेसले सहकारी प्रकरणका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै राखेको थियो भने सत्तापक्ष दलहरूले भने कुनै एक व्यक्तिलाई मात्रै केन्द्रित गरेर छानबिन समिति बनाउन नसकिने जवाफ दिएको थियो ।

बैठकपछि सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल भएको र यो निरन्तरको प्रक्रिया भएको बताउनुभयो । उहाँले समस्याले सदनलाई अवरोध गर्नु नहुने भन्दै आगामी अधिवेशन सहजरूपमा चल्ने विश्वास व्यक्त गर्नुभयो।

सदनलाई सहजरूपमा सञ्चालन गर्ने दायित्व राजनीतिक दलको पनि भएकाले ठूला राजनीतिक दल संसदलाई समस्याको समाधान गर्ने थलोका रूपमा अगाडि बढाउने उहाँले बताउनुभयो । उहाँले संसदीय व्यवस्थामा सबै राजनीतिक शक्तिको भूमिका निर्णायक हुने र दलहरूले नै समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो ।

Back to top button