विश्वासको मत नलिएका कोशीका मुख्यमन्त्री कार्कीबाट आएन राजिनामा, एमाले र माओवादी छलफलमा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि अबको कदमबारे एमाले–माओवादीको संयुक्त बैठक केही बेरमा बस्दै छ ।

उक्त बैठकले अबको कदमबारे निष्कर्ष निकाल्ने स्रोतको दाबी छ । विराटनगरस्थित बिग होटलमा बैठक बिहान साढे ८ बजेका लागि बोलाइएको छ ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले अबको दुई दिनसम्ममा यो प्रक्रियाको टुङ्गो लाग्ने बताउनुभयो । ‘प्रदेश प्रमुखज्यू परामर्शमा हुनुहुन्छ । दुई तीन दिन लाग्ला,’ उहाँले भन्नुभयो । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि प्रदेश प्रमुख आइसकेपछि थप परामर्श हुने बताउनुभयो ।’ एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गर्नुपर्ने बताउनुभयो ।

भण्डारीले भन्नुभयो, ‘उहाँलाई यसअघि नै हामीले सबैकुराको लिखित मौखिक जानकारी गराएका छौं । उहाँले सरकार गठनको आव्हान गर्नुपर्छ र बहुमत लिएर गएपछि नयाँ ‘सरकार गठन हुन्छ ।’

उहाँले यो प्रक्रिया आज, भोलि भित्र नै टुङ्गो लाग्ने समेत बताउनुभयो । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने समयावधि मङ्गलबार रातको १२ बजेपछि सकिएको छ ।

गत चैत २६ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिएका थिए । संविधानको धारा १८८ को उपधारा २ अनुसार त्यसदिनदेखि ३० दिनभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने थियो ।

प्रदेशसभाको विशेष अधिवेशनबाट गत वैशाख ७ गते सङ्कल्प प्रस्ताव पारित गर्दै मुख्यमन्त्रीलाई संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत लिन ध्यानाकर्षण गराइसकेको छ ।

मुख्यमन्त्री कार्की २०८० असोज २८ गते संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री बन्नुभएको हो । त्यसबेला उहाँलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदले समर्थन गरेका थिए । प्रदेशसभामा बहुमत प्राप्त गर्नका लागि ४७ सांसद आवश्यक पर्छ । मुख्यमन्त्री कार्कीलाई हाल नेपाली काँग्रेसका २९ र नेकपा (एकीकृत समाजवादी) का ४ गरी ३३ सांसदको मात्रै समर्थन छ ।

Back to top button