प्रधानमन्त्री समेत भ्रममा परेको पाइयो : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई समेत भ्रममा पारेर आफ्नो दल फुटाइएको दाबी गर्नुभएको छ । आफ्नो दलबाट फुटेर अशोक राईको नेतृत्वमा गठन भएको नयाँ दल जनता समाजवादी पार्टी अवैधानिक भएको समेत उहाँले दाबी गर्नुभयो ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहनुएका यादव अमेरिका भ्रमणमा रहेका बेला जसपा फुटेको थियो । राईको नेतृत्वमा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा जसपा अध्यक्ष यादवले नयाँ दल दर्ता असंवैधानिक भएको बताउनुभयो । राजनीतिक दलसम्बन्धी कानुन नभएको अवस्थामा रातारात दल दर्ता गरेको भन्दै उहाँले यसविरुद्ध अदालत जाने समेत बताउनुभयो ।

कांग्रेस र एकीकृत समाजवादीसँग मिलेर नयाँ सरकार बनाउन खोजेको हल्ला गलत भएको उहाँले दाबी गर्नुभयो ।

‘यो सरकार बनेदेखि कांग्रेसका कसैसँग भेट नभएको भन्दै यादवले भन्नुभयो,‘यो सरकार ढालेर अर्को सरकार बनाउँदैछ भन्ने अत्यन्त कपोल्कल्पित हल्ला थियो । त्यस किसिमको कुनै आवश्यकता पनि थिएन, प्रयास पनि थिएन ।’

आफू देश बाहिर रहेको बेला दल फुटाउन प्रधानमन्त्रीलाई भ्रममा परेको महसुस भएको उहाँले बताउनुभयो । अमेरिकाबाट फर्किएलगत्तै प्रधानमन्त्रीलाई भेट्नुभएका यादवले भन्नुभयो,‘जुन हौवा फिजाइयो, उहाँ पनि त्यो भ्रममा पारेको भन्ने बुझियो ।’

उहाँले सरकारलाई दिएको समर्थन कायमै राख्ने बताउनुभयो । ‘सरकारप्रति निरन्तर समर्थन छ, यो रहन्छ,’ उहाँले भन्नुभयो,‘बाँकी कसरी परिस्थिति विकास हुन्छ भन्नेमा निर्भर हुन्छ ।’

Back to top button