सहकारी पीडितको पक्षमा उभिने  कांग्रेसको निर्णय, जेठ १३ गते विशाल प्रदर्शन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सहकारी पीडितको पक्षमा उभिने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेमा आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले लाखौं सहकारी पीडितहरूको पक्षमा उभिने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले बताउनुभयो ।

उहाँले सहकारी पीडितको बचत फिर्ता नभएसम्म कांग्रेसले सडक र सदनबाट आन्दोलन जारी राख्ने निर्णय भएको बताउनुभयो । त्यसका लागि कांग्रेसको काठमाडौं कमिटीले जेठ १३ गते विशाल प्रदर्शन गर्ने उहाँले बताउनुभयो ।

‘देशभरि सहकारीका लाखौं बचतकर्ताहरू पीडित भएका छन्। त्यसलाई गम्भीरताका साथ लिँदै कांग्रेस पीडितको पक्षमा उभिने निर्णय गरेको छ। उहाँहरूको बचत फिर्ता नभएसम्म र अपचलन गर्नेहरूलाई कानुनी कारबाही नगरेसम्म हामीलै सडक र सदनबाट आन्दोलन गर्छौं,’ बैठकको निर्णय सुनाउँदै उहाँले भन्नुभयो ।

यस्तै, गृहमन्त्री रवि लामिछाने पदमा रहेकै कारण उहाँविरुद्ध छानबिन हुन नसकेको कांग्रेसको ठहर छ। सहकारीको झन्डै एक अर्ब रुपैयाँ रवि लामिछानेको गोरखा मिडियामा अपलचन भएको प्रवक्ता महतले बताउनुभयो ।

‘उपप्रधान तथा गृहमन्त्रीको गोरखा मिडियामार्फत् विभिन्न सहकारीका झन्डै एक अर्ब रुपैयाँ दुरुपयोग भएको छ। गृहमन्त्री भएकै कारण उनीविरुद्ध सुरक्षा निकायबाट छानबिन हुन सकेको छैन। वा, छानबिन अवरुद्ध गराइएको छ। प्रधानमन्त्री र आइजीपीलगायतले आलटाल जवाफ दिइरहेका छन्। त्यसैले हामीले संसदीय छानबिन समिति मागेका हौं,’ उहाँले भन्नुभयो ।

Back to top button