प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनु उचित हुन्छ : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्पष्ट रुपमा अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिएर मार्गप्रशस्त गर्नु उचित हुने बताउनुभएको छ ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उहाँले संविधान अनुसार विश्वासको मत लिने अधिकार प्रधानमन्त्रीलाई भएपनि अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताउनुभएको हो ।

समावेशी र समानुपातिक प्रतिनिधित्व लगायतका विषयका साथै संघियतालाई कार्यान्वयन गर्न संविधान संशोधन गर्नुपर्ने आवश्यकता विगत ७ वर्षमा सबैले महसुस गरेकाले संविधान संसोधन गर्न लागिएको उहाँको भनाई छ । महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई थप परिमार्जित र परिष्कृत गरेर अझै मजबुत बनाउने उद्देश्यले नेपाली कांग्रेस र एमाले बीच नयाँ सहकार्य शुरु गरिएको पनि बताउनुभयो ।

यस्तै, उहाँले एमालेसँगको नयाँ गठबन्धन बनाइसकेपछि पनि प्रधानमन्त्री प्रचण्डको अस्थिर चरित्रका कारण उहाँको नेतृत्वको सरकार ढलेको स्पष्ट पार्नुभयो । संविधान संशोधनका लागि नेपाली कांग्रेस र एमालेका संख्याले मात्र नपुग्ने भएकाले अन्य दलहरु सहितको राष्ट्रिय सहमतिको सरकार बनाउने उहाँको भनाइ छ ।

Back to top button