नेकपा एस अधिबेशनः निर्वाचन प्रक्रिया स्थगित गरेर सर्वसहमतिको प्रयास जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)को नयाँ नेतृत्व सर्वसहमतिबाट टुंग्याउने प्रयास चलिरहेको छ ।

सर्वसहमतिबाट नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । आज बिहान १० बजेबाटै निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्यतालिका तय गरिएको थियो ।

तर, नेतृत्वमा सर्वसहमतिको प्रयास गर्ने भनेर अहिलेसम्म निर्वाचन प्रक्रिया अगाडि बढाइएको छैन । नेताहरू लगातार छलफलमा जुटिरहेका छन् ।

‘अहिलेसम्म नटुंगिए पनि हामी सर्वसहमतिबाट नेतृत्व चयन गर्छौ, त्यसैका लागि छलफल चलिरहेको छ,’ प्रकाश ज्वालाले भन्नुभयो । उहाँले मतदानसम्म नपुर्‍याउने प्रयास भइरहेको पनि बताउनुभयो ।

प्रतिवेदनहरू पारित भएपछि सुरु भएको छलफल हिजो राति १ बजेसम्म चलेको थियो । फेरि आज बिहानबाट सुरु भएको छलफल अहिले पनि चलिरहेको छ ।

सहमति जुट्न भने सकेको छैन । पार्टी अध्यक्ष पदमा माधव नेपाल र घनश्याम भूसालले दाबी गर्नुभएको छ ।

दुवैले अडान नछोड्दा सर्वसहमति हुन सकेको छैन । तर, बन्दसत्रमा अधिकांश प्रतिनिधिले सर्वसहमति गर्न दबाब दिएपछि नेताहरू सर्वसहमति जुटाउन छलफलमा छन् ।

एकीकृत समाजवादीमा २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ ।

Back to top button