दुई ठूला दल मिल्दा देश निरंकुशतातिर जान्छ कि भन्ने चिन्ता छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकतन्त्रमा दुई ठूला दल मिलेर सरकार बनाउँदा निरंकुश हुने आशंका पनि उत्पन्न हुने बताउनुभएको छ ।

लोकतन्त्रमा दुई ठूला दल मिलेर सरकार बनाउँदा देश निरंकुशतातिर र अराजकतातिर जान्छ भन्ने चिन्ता छ । आज वीरगञ्जमा बोल्ने क्रममा उहाँले भन्नुभयो, ‘त्यसको पहरेदारी कांग्रेसले गर्नुपर्छ । त्यतातिर जान दिन हुँदैन ।’

राजनीतिक स्थायित्वको लागि संविधान संशोधन गर्नुपरेको सुनाउँदै कोइरालाले त्यसका लागि एमालेसँग सरकार बनाउनु परेको सुनाउनुभयो । यो गठबन्धन के, कसरी र किन भन्ने आफ्नो ठाउँमा भए पनि संविधान संशोधनका लागि बनेकाले स्वाभाविक लिनुपर्ने उहाँले बताउनुभयो ।

प्रत्यक्ष निर्वाचनबाट एउटा दलले बहुमत ल्याउन सकिने अवस्था बन्ने गरी संविधान संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो । दुई ठूला दलले अन्य दलसँग चुनावी तालमेल नगर्न प्रतिवद्ध हुनुपर्ने कोइरालाले बताउनुभयो । चुनावी तालमेल नगर्ने दुई ठूला दलको निर्णय भएमा साना दलहरू विस्तारै विलय हुँदै जाने परिस्थिति बन्ने कोइरालाले बताउनुभयो ।

राष्ट्रिय सभामा समानुपातिक तर्फबाट चुनिने गरी संविधान संशोधन गर्न सकिने उहाँले तर्क गर्नुभयो ।

Back to top button