
काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुईजना नेपाली युवाको मृत्यु भएको छ । रोमानियाको बाकाउ क्षेत्रमा भएको दुर्घटनामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२०, बागबजारका २५ वर्षीय निश्चल तामाङको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
घटनाबारे नेपालमा रहेका मृतकका परिवारलाई जानकारी गराइसकिएको र मृतकको शव नेपाल पठाउन आवश्यक प्रक्रिया अगाडि बढाउन समन्वय भइरहेको बताइएको छ ।
रोमानियामा कार्यरत मनिस थापाका अनुसार रेल दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट ३ सय ८ किलोमिटर टाढा पर्ने बाकाउ सहरको चिमिई रेल सडक खण्डमा गत २ अगस्ट २६ (आइतबार) स्थानीय समय बिहान ३ः२१ बजे भएको थियो । रेलमार्ग आसपासको क्षेत्र अँध्यारो तथा झाडीले ढाकिएको हुँदा आउँदै गरेको रेलको समयमै जानकारी नपाउँदा तीव्र गतिमा आएको रेलको ठक्करबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
उनीहरूसँगै रहेका अन्य दुई नेपाली कामदार भने रेलको हावाको चापले छेउको झाडीमा फालिँदा घाइते भएका थिए । घटनाको थप विवरण तथा दुर्घटनाको यथार्थ कारणबारे रोमानियाली प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । मृतक दुवै युवाको शव आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि नेपाल पठाउने तयारी भइरहेको छ ।







