संविधान दिवसको अवसरमा रोड रेस र ब्याडमिन्टन प्रतियोगिता हुँदै

विराटनगर। प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले संविधान दिवसको अवसर पारेर रोड रेस र ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशको सहयोग र समन्वयमा बोर्डले असोज १ र २ गते ब्याडमिन्टन प्रतियोगिता र असोज २ गते रोड रेस आयोजना गर्ने भएको हो।

बोर्डले आयोजना गर्ने ब्याडमिन्टन प्रतियोगितामा कोशी प्रदेशभित्रका जनप्रतिनिधि, निजामती कर्मचारी, शिक्षक, सुरक्षा निकायलगायत सरकारी निकायको सहभागिता रहने बोर्डका सदस्य सचिव विप्लव घोषले बताउनु भयो । उहाँले महिला र पुरुष दुई विधामा प्रतिस्पर्धा हुने प्रतियोगिताको प्रथम हुने टिमलाई २५ हजार नगद, दोस्रोलाई २० हजार नगद र तेस्रोलाई १५ हजार नगदसहित सम्मान-पत्र प्रदान गरिने जानकारी दिनुभयो।

ब्याडमिन्टन प्रतियोगिताका खेलहरू शहीद रंगशालास्थित कभर्ड हलमा हुनेछ।

त्यस्तै, रोड रेस अन्तर्गत ५० वर्ष उमेर भन्दामाथिका लागि २ किलोमिटर रेस र १५ वर्ष उमेर भन्दा मुनिका लागि ३ किलोमिटर रेस आयोजना गरिने भएको छ । महिला र पुरुष गरी दुई विधामा प्रतिस्पर्धा हुने रेसमा प्रथमलाई २५ हजार नगद, दोस्रोलाई २० हजार नगद र तेस्रोलाई १५ हजार नगदसहित सम्मान-पत्र प्रदान गरिने सदस्य सचिव घोषले जानकारी दिनुभयो।

घोषले ५० वर्ष उमेर माथिको रेसका लागि शहीद रंगशाला, शनिहाट चोक, मेनरोड, जलजला चोक, हस्पिटल चोक हुँदै शहीद रंगशाला र १५ वर्ष उमेर भन्दा मुनिका लागि शहीद रंगशाला, तीनपैनी, गोल्छा चोक, जलजला चोक, हस्पिटल चोक हुँदै शहीद रंगशालामा टुंगिने तय भएको बताउनु भयो।

 

 

Back to top button