
विराटनगर। प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले विराटनगरकी ६ वर्षीय बालिका इशानी झालाई सम्मान गरेको छ। बोर्डले संविधान दिवसको अवसरमा विराटनगरस्थित शहीद रंगशालामा आयोजित कार्यक्रममा झालाई सम्मान गरेको हो।
बोर्डले संविधान दिवसको अवसर पारेर आयोजना गरेको अन्डर- १५ (यु-१५) ३ किलोमिटर रोड रेस प्रतियोगितामा उच्च मनोबल प्रदर्शन गर्दै ६ वर्षीय झाले रेस पुरा गरेको भन्दै उक्त कार्यको प्रशंसा गर्दै सम्मान गरेको हो। बोर्डले सम्मानित झालाई सम्मानपत्र र नगद ५ हजार सहित सम्मान गरेको थियो।

बोर्डका सदस्य सचिव विप्लव घोषले आफू भन्दा झन्डै दोबर उमेरका बालबालिकासँग प्रतिस्पर्धा गर्नुभएकी झाले ३ किलोमिटर दौड पुरा गर्नु आफैमा ठूलो उपलब्धी भएको बताउँदै थप प्रोत्साहन होस् भन्ने उदेश्यसाथ सम्मान गरेको जानकारी दिनु भयो।
झालाई कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री हिक्मत कार्कीलगायतले सम्मानपत्र हस्तान्तरण गर्नु भएको थियो।







