विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा विराटनगर महानगरपालिका तथा आसपासका बजार क्षेत्रमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा २९ वटा फर्महरु कारबाहीमा परेका छन् ।
असोज ९ गतेयता गरिएका ७४ वटा फर्मको अनुगमनका क्रममा विभिन्न कसुरमा २९ वटा फर्मबाट ६ लाख ९२ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।
नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी उपभोक्ताको गुनासो सम्बोधन, कालोबजारी नियन्त्रण, उपभोक्ता हित संरक्षण, उपभोग्य वस्तुको गुणस्तर तथा मूल्य नियन्त्रण, नापतौलको शुद्धता र व्यावसायिक पारदर्शिता कायम गर्ने उद्देश्यले संयुक्त बजार अनुगमन गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पनवराज कोइरालाले बताउनुभयो ।
उहाँका अनुसार अनुगमनका क्रममा खाद्यान्न, औषधि, होटल तथा रेस्टुरेन्ट, कपडा, जुत्ता–चप्पल, माछा–मासु, दुग्धजन्य पदार्थलगायतका व्यवसायको निरीक्षण गरिएको थियो । त्यस क्रममा क्रममा तीनवटा औषधि पसल सिलबन्दी गरिएको छ । पाँचवटा फर्मलाई सम्बन्धित नियमनकारी निकायमा उपस्थित हुन निर्देशन दिइएको छ ।
कर तथा लेखा मापदण्ड पालना नगरेका, बिल तथा बिजक जारी नगरेका, खरिद–बिक्री खाता दुरुस्त नराखेका तथा करसम्बन्धी मापदण्ड पालना नगरेका १९ वटा फर्मलाई १ लाख ९२ हजार रुपैयाँ जरिबाना गरिएको छ । त्यसैगरी उपभोक्ता संरक्षण ऐनविपरीत लेबल नगरिएका, पुनःप्याकेजिङ गरिएका तथा म्याद गुज्रिएका सामग्री बिक्री गरेको भन्दै आठवटा फर्मलाई ७५ हजार रुपैयाँ जरिबाना गरिएको छ ।








