
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक मर्मतसम्भारका लागि आज राति पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।
त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि नयाँ ट्र्याक निर्माण गरी दुईतर्फी रूपमा सवारी सञ्चालन गरिएको सडकखण्डमा थप मर्मतसम्भार गर्नुपर्ने भएकाले आवागमन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
कार्यालयका अनुसार असोज २६ गते सोमबार राति ११ बजेदेखि मंगलबार बिहान ४ बजेसम्म गलौँदी हुँदै सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइनेछ ।
सडक मर्मतको कामलाई सुरक्षित र प्रभावकारी रूपमा सम्पन्न गर्न उक्त समयमा सवारी आवागमन बन्द गर्न लागिएको हो । प्रशासनले सम्बन्धित सबैलाई सोहीअनुसार यात्रा व्यवस्थापन गर्न आग्रह गरेको छ ।







