
विराटनगर । विराटनगरको माटस बोर्डिङ स्कुलमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
विराटनगर महानगरपालिका–१० तिनटोलियास्थित माटस बोर्डिङ स्कुलमा आज बिहान करिब ४ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । स्कुलका सञ्चालक सीएम श्रेष्ठका अनुसार विद्युत् तार सर्ट भएर स्कुलमा आगलागी भएको हो ।
घटनाको जानकारी पाउनसाथ प्रहरी घटनास्थल पुगेको थियो । विराटनगर महानगरपालिकाको दमकलको सहयोगमा आगो करिब एक घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट विद्यालयको भवनमा रहेको कार्यालयका दुई थान कम्प्युटर, एक थान प्रिन्टर, एक थान स्टेप्लाइजर र दुई थान कुर्सीका साथै विज्ञान प्रयोगशालामा रहेका विभिन्न सामग्री जलेर नष्ट भएको सञ्चालक श्रेष्ठले बताउनुभयो ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।







