आयो दशैँ, गयो दशैँ : बडादशैँ

युवराज बास्कोटा ‘यज्ञ’

दशैँ, बडादशैँको आज अन्तिम दिन– कोजाग्रत पूर्णिमा । कुनै कारणले छुटेको भए बडाजनसमक्ष पुगेर टीका थाप्ने र कलकलाउँदा जमरासहित आशीर्वादस्वरूप आशीर्वचन ग्रहण गर्ने दिन । बडाजनसमक्ष टीका थाप्न पाउने निर्धारित लामो समय लिएको चाड भएकै कारणले पनि यो दशैँ, अर्थात् बडादशैँ हो ।

दशैँ नेपाली समाजको एउटा प्रमुख सांस्कृतिक पर्व हो । यसलाई धार्मिक आस्था र परम्परासँग मात्र जोडेर हेर्नुभन्दा पारिवारिक पुनर्मिलन, सामाजिक सम्बन्धको नवीकरण, पुस्तान्तरण, आपसी सहयोग, मनोवैज्ञानिक सन्तुष्टि र सामाजिक सद्भाव अभिवृद्धि गर्ने अवसरका रूपमा बुझ्नु वाञ्छनीय हुन्छ । आवश्यक पनि छ ।

दशैँ बितेपछिको आँखीझ्यालबाट यसलाई हेर्दा– दशैँ आएसँगै सुरु भएको चहलपहलले एउटा अभूतपूर्व तरंग ल्याएको छ । विशेषतः सामाजिक र सांस्कृतिक क्षेत्रमा आएको यो तरंगले प्रत्येक घरपरिवारको पारिवारिक मिलन, पारस्पारिक सम्बन्धमा आधारित सामाजिक अन्तरघुलन र अर्थ राजनीतिलाई नै रिफ्रेस गराएको छ ।

कतिपयले आफन्तजनको देहावसानको शोक वर्ष भएकोले निजको सम्मानमा यसपटक दशैँ मान्नुभएन होला ! कतिपयले दशैँ साइतकै आसपासमा सुतक परेकोले पनि दशैँ मान्नुभएन होला ! कतिपय अरु कतिपय कारण दशैँ मान्नु÷मनाउनु भएन होला ! तथापि, दशैँका सन्दर्भसँग जोडिएर परस्पर संवाद अभाव भएन, बोलचाल बन्द भएन, शब्द–शुभेच्छाहरू आदानप्रदान भइरहे र यसक्रममा पारस्पारिक सम्बन्धमा पनि नवीनता आयो, नवीकृत भयो ।

टाढिएको तन दशैँसँगै नजिकियो । बिग्रेका सम्बन्धहरू सुध्रिए । सुस्ताएको आवाज पुनर्जागृत भयो । पारस्पारिक भेटघाटसँगै एकोहोरो कसिएको मन केही खुकुलियो । कतिपय कारणले कसिएका जुइँनाहरू खुकुलिए । एउटा बाचा र एउटा संकल्पसहित फेरि अटुट बन्धनका रूपमा कसिए ।

दशैँले उनीहरू सबैलाई एकै ठाउँमा जुट्ने र भेला हुने अवसर प्रदान गर्छ । टाढिएका परिवारका सदस्यबीच भेटघाट भएको छ । भेटघाटका क्रममा अन्तरसम्बन्धहरू कसिएका छन्, बलिया र दह्रा भएका छन् ।

पारिवारिक पुनर्मिलन र आत्मीयता 

दैनिक जीवनमा विभिन्न कारणले घरबाहिर, क्षेत्रबाहिर, जिल्लाबाहिर, प्रदेशबाहिर, देशबाहिर रहँदै आएको परिवारको सदस्य दशैँको बहानामा घर फर्किएको छ । आमा, बुवालगायत परिवारवनका आँखामा आफूलाई हर्षले अटाएको छ । सुख, शान्ति, समृद्धिको अनुभूति गरेको छ । तीर्थव्रत, रोजगारी, अध्ययन, व्यवसाय र अन्य कारणले परिवारका सदस्यहरू टाढा रहनुपर्ने अवस्थाको कहिँ अन्त्य भएको छ भने कहिँ नवीकरण भएको छ । दशैँले उनीहरू सबैलाई एकै ठाउँमा जुट्ने र भेला हुने अवसर प्रदान गर्छ । टाढिएका परिवारका सदस्यबीच भेटघाट भएको छ । भेटघाटका क्रममा अन्तरसम्बन्धहरू कसिएका छन्, बलिया र दह्रा भएका छन् ।

यसबीचमा कतिपय कारणले छिन्नभिन्न भएजस्तो देखिएको सम्बन्ध परिस्कृत भएको छ, परिस्कृत भएसँगै प्रगाढ बनेको छ । आमाबुबा, छोराछोरी, दाजुभाइ तथा दिदीबहिनीबीच आत्मीयता बढेको छ । यसबाट पारिवारिक दूरी र भावनात्मक रिक्ततालाई हटाउन र घटाउन एउटा उपयुक्त वातावरण तयार भएको छ । दशैँ यसनिमित्त एउटा संगम बनेसँगै पारिवारिक सुखदुःख साटासाट गर्ने अवसर जुरेको छ । परिवारभित्रका असमझदारी समाधान गर्ने उपयुक्त वातावरणीय बिन्दु दशैँ बनेको छ । पारिवारिक सम्बन्ध सुदृढ हुनु, अपनत्व बढ्नु र एक्लोपनको अनुभूति कम हुनु यो चानेचुने कुरा होइन । मानिसको जीवनमा परेको प्रत्यक्ष लाभको पक्ष हो, जसलाई वस्तुको निर्धारित बजारमूल्यमा होइन, मानवीय मूल्यमा पढ्न सकिन्छ ।

ज्येष्ठ नागरिकप्रति सम्मान

दशैँमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले पुस्ताबीचको सम्बन्धलाई जीवन्त बनाएको छ । दशैँ अर्थात् बडादशैँ भनिएसँगै बडाजनबाट नवोदित पुस्ताले टीका थाप्ने मात्र होइन, समग्र संस्कार सिक्ने र पाको पुस्ताले नयाँलाई संस्कार हस्तान्तरण गर्ने उपयुक्त गन्तव्य बनेको छ ।

दशैँमा प्रत्येकले आफ्ना आमा–बुबा, हजुरबुबा–हजुरआमा र समाजका ज्येष्ठ नागरिकसँग भेटघाट गर्नुपर्छ, गर्नुहुन्छ । यसबाट उहाँहरूप्रति आदरभावसहित आत्मीयता बढ्ने मात्र होइन, ज्येष्ठ नागरिकले प्राप्त गर्नुभएको अनुभव, ज्ञान र जीवनदर्शन सुन्ने अवसर प्राप्त भएको हुन्छ । घरका बालबालिकाले आफूभन्दा मान्यजनलाई मर्निङ, नमस्कार, अभिवादन, आदर आदि गर्न सिकेका छन् । अनुशासन र आचरणम रहन सिकेका छन् । आयु द्रोणसुते …ऽऽ भन्दै गर्दा ठूलाका सिको गर्ने क्रममा केही हदसम्म भए पनि पारिवारिक मर्यादा सिकेका छन् ।

हातपाउ बसेसँगै गहभरि अश्रुधारा लिएका कुप्राबुवादेखि जनाती पुस्ताबीच कायम परिवारको इतिहास, परम्परा र सांस्कृतिक पहिचान नयाँ पुस्तामा हस्तान्तरण भएको हुन्छ । प्रत्यक्ष लाभका दृष्टिकोणले हेर्दा पनि पुस्तान्तरणको क्रममा रहेको पुस्ताबीच भावनात्मक सम्बन्ध बलियो भएको छ । असल संस्कारसहित दशैँ आफैंमा पुस्तान्तरण भएको छ ।

सामाजिक सम्बन्धको नवीकरण 

वस्तुतः दशैँ कुनै एउटा घरपरिवारभित्र सीमित रहँदैन, रहने पर्व पनि होइन । पछिल्ला केही दिनयता फरक धर्मास्थाका अनुयायीले पनि दशैँ धुमधामसँग मान्ने मनाउने गर्नुभएको छ । विराटनगर निवासी बामपन्थी नेता वसिम आलामले टीका र जमरासहित दशैँलाई अँगालो हाल्ने गर्नुभएको छ । यस्ता एकमात्र होइन, दर्जनौँ उदाहरणहरू छन् । थुप्रै आलमले दशैँलाई समाजको सम्पत्तिको रूपमा अपनत्वबोध गर्नुभएको छ । यसरी हेर्दा दशैँ परिवारजनबाहेक आफ्नाआफन्त, समस्त छिमेकी, तमाम साथीभाइ र सामाजिक सम्बन्धमा जोडिएका परस्पर कैयौँ व्यक्तिहरूसँग भेटघाट गर्ने अवसर पनि हो ।

दशैँको रौनक लागेसँगै लामो समयदेखि भेट नभएका आफन्त तथा साथीभाइसँग यसै बेला बखतमा पुनर्मिलन हुन्छ । यसबाट टुटेका वा कमजोर बनेका सम्बन्ध सुधार्न मद्दत पुग्छ । दशैँमा नयाँ छिमेकीबीच परिचय, छिमेकमा बुहारी बनेर आएकी नयाँ पात्रसँगको परिचयसँगै आत्मीयता र विश्वास बढ्ने वातावरण बन्दो रहेछ ।

यसबाट क्रमशः आपसी सहयोग र सहकार्यको भावना विकास हुन्छ । भविष्यमा आवश्यक पर्दा सहयोग गर्न सक्ने सामाजिक सम्बन्धमा आधारित सञ्जाल निर्माण हुन्छ । कतिपय ठाउँमा यसै बखतमा भूतपूर्व विद्यार्थी समाज, भूतपूर्व शिक्षक समाज, भूतपूर्व कर्मचारी समाज आदि बन्ने पनि गरेका छन् । यसो गर्दै जाँदा समाजलाई चाहिने सामाजिक पुँजी संग्रह हुँदो रहेछ । अर्थात् प्रत्यक्ष लाभका दृष्टिकोणले पनि परस्पर विश्वास, सम्बन्ध र सहयोगको सञ्जाल विस्तार हुने अवस्था बन्दो रहेछ ।

मनमुटाव, वैमनस्य र तिक्तता कम गर्ने अवसर 

दशैँ सामाजिक जीवनमा देखिएका, भेटिएका र बढेका व्यक्तिगत असमझदारी, पारिवारिक विवाद र सम्बन्धगत तिक्ततालाई निराकरण गर्ने मिलनबिन्दु पनि हो । दशैँलगायत चाडपर्वले त्यस्ता सम्बन्ध सुधार्ने अनुकूल वातावरण प्रदान गर्दो रहेछ । सानोले ठूलासमक्ष झुक्नुपर्ने र ठूलाले माफ गरिदिनुपर्ने प्रचलित मान्यता रहेअनुरुप यदाकदा मानिसमा हुने मनमुटाव, वैमनस्य र तिक्तता कम गर्ने अवसर पनि हो दशैँ ।

दशैँ भेटघाट, शुभकामना आदानप्रदान, टीका ग्रहण आदि सन्दर्भसँगै गल्ती गर्नेले गल्ती स्वीकार गर्ने र क्षमा माग्ने क्षमा मागेको अर्थमा दशैँ एउटा अवसर बन्दो रहेछ । पुराना असमझदारीहरू सघन संवादमार्फत हटेको, आपसी वैमनस्य कम गरी सम्बन्ध सुधार्न अग्रसरता लिएको, परिवार र समाजमा परस्पर मेलमिलापको वातावरण निर्माण गरेको, व्यक्तिगत अहंकारभन्दा सम्बन्धको महत्त्व बुझ्ने अवसरका रूपमा दशैँलाई प्रयोग गरेको पनि देखियो । यसबाट पारस्परिक सम्मान, संवाद र सद्भाव बढेको अर्थमा लिन सकिन्छ । बिग्रेको सम्बन्ध सुधार, मनोवैज्ञानिक रूपमा हल्कापन वृद्धि र सामाजिक मेलमिलापको सम्भावना बढ्नु प्रत्यक्ष लाभका दृष्टिकोणले पनि ठूलो कुरा हो ।

दशैँ : सामाजिक सद्भाव र सहिष्णुताको विकास

संविधानतः नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाज भएको देश हो । यसैको आलोकमा दशैँ मनाउने तरिका समुदाय, परिवार र व्यक्तिको आस्थाअनुसार फरक हुन सक्छ । फरक संस्कृति र परम्पराप्रति सम्मान गर्ने अवसर पनि हो दशैँ । यद्यपि, दशैँ मनाउने वा नमनाउने व्यक्तिको धार्मिक स्वतन्त्रता र सांस्कृतिक छनोटको पक्ष हो । यसलाई हामी सबैले सम्मान गर्नुपर्छ ।

यसबाट समुदायमा आपसी विश्वास र सहकार्य बढ्छ । यहिँनेरबाट सामाजिक सद्भाव, सहिष्णुता र सामुदायिक एकताको बिजारोपण हुन्छ । यो निकै ठूलो विषय हो ।

दशैँका सन्दर्भमा छिमेकी तथा साथीभाइबीच शुभकामना आदानप्रदान हुन्छ । विविधताबीच सहअस्तित्वको भावना विकास हुन्छ । सहअस्तित्वले सामाजिक विभाजनभन्दा मानवीय सम्बन्धलाई प्राथमिकता दिन्छ । यसबाट समुदायमा आपसी विश्वास र सहकार्य बढ्छ । यहिँनेरबाट सामाजिक सद्भाव, सहिष्णुता र सामुदायिक एकताको बिजारोपण हुन्छ । यो निकै ठूलो विषय हो ।

मानसिक प्रसन्नता र भावनात्मक सन्तुष्टि

चाडपर्वको वातावरण, परिवारसँगको भेटघाट, बालबालिकाको उत्साह, शुभकामना आदानप्रदान र सामूहिक गतिविधिले मानिसको भावनात्मक जीवनमा सकारात्मक प्रभाव पार्ने रहेछ ।

दशैँसँगै दैनन्दिन कामको धाइधपेडीबाट केही समय विश्राम, परिवार र साथीभाइसँग रमाइलो समय बिताउन पाइने अवसर, पारस्पारिक मूल्यनिर्देशित माया, सद्भाव र अपनत्वको अनुभूति यो असाधारण पक्ष हो । आर्थिक अभाव, पारिवारिक पीडादेखि लिएर विछोडसम्मको क्षण वा अन्य कठिनाइमा रहेका व्यक्तिका लागि चाडपर्व तनावपूर्ण पनि हुन सक्छ । योबाहेकको अवस्थामा खुसी मिल्नु, खुशी साटिनु, भावनात्मक सन्तुष्टि आर्जन हुनु, आत्मीयता र मानसिक ताजगी प्राप्त हुनु यो आफैंमा अतृप्त चाहना पूरा हुनु हो । दशैँले यो सबै पक्षको जोहो गरिदिएको हुन्छ ।

आर्थिक गतिविधिको सूत्राधार दशैँ

दशैँले घरपरिवारको खर्चसँगै स्थानीय बजार र विभिन्न व्यवसायमा आर्थिक गतिविधि बढाउने अवसर सिर्जना गरेको हुन्छ । मुठ्ठिभित्र बाँधिएको पैसा मुठ्ठिबाहिर निस्कन्छ । राम्रो लत्ताकपडा, मिठो खाद्यान्न र दैनिक उपभोग्य वस्तुको जोहोसँगै खरिदबिक्री ह्वात्तै बढ्छ ।

आफ्नै खेतबारीमा फलेको, झुलेको बालीको नुवागी खानेदेखि लिएर योसँगै स्थानीय कृषि उपज, फलफूल, तरकारी र स्थानीय उत्पादनको बजार विस्तार हुने हुन्छ । दशैँमा साना व्यापारी, किसान, कारीगर र सेवा प्रदायकले आम्दानी गर्ने अवसर पाउँछन् । घुइँचो मानिसको ओहोरदोहोरसँगै यातायात, होटल, पर्यटन तथा अन्य सेवामा माग बढ्न थाल्छ । यसले व्यापारिक कारोबार, रोजगारी र स्थानीय आयआर्जनका अवसर बढाउन मद्दत गर्छ । यो अर्को असाधारण पक्ष हो ।

सहयोग, दान र सामाजिक उत्तरदायित्व 

दशैँलाई आफ्नो परिवारको खुसीमा मात्र सीमित नराखी अरूको जीवनमा पनि खुसी थप्ने अवसर बनाउन सकिँदो रहेछ । मोरङको पथरी निवासी युवा व्यक्तित्व किशन चाम्लिङले ‘दशैँमा पनि चुल्हो बाल्न नसक्ने घरमा दशैँ’ अभियान चलाउनुभयो । उहाँले यसक्रममा आर्थिक रूपमा कमजोर परिवारलाई खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराउने र समाजको अनाथ, असहाय, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्नुभयो । मानवीय मूल्यसँग गाँसिएको यो सहयोग र सामाजिक उत्तरदायित्वको पक्ष दशैँले ल्यायो । कार्यपालिका सदस्य एवम् वडाध्यक्ष भीमकुमार राईले पनि सेवामूलक यस्ता थुप्रै कामको अग्रसरता लिनुभयो । फलस्वरूप दशैँको रौनकसँगै सिंगो समाज रमायो ।

टाढाटाढाबाट दशैँको मौकामा घर फर्किएका कतिपयले आफूले पढेको विद्यालयका लागि वा बढेको गाउँसमाजका लागि भनेर विपन्न बालबालिकालाई शैक्षिक सामग्री ल्याउनुभयो । कतिपयले मठमन्दिरमा एक्लै रहेका वा परिवारबाट टाढा भएका व्यक्तिसँग भेटघाट गरेर टीका थाप्नुभयो । यो दशैँको अन्तरनीहित गौरवको पक्ष हो । सामुदायिक हितका क्षेत्रमा कसैले स्वयंसेवीभावका साथ काम गर्नुदेखि लिएर सामाजिक सुरक्षा र सहयोगको भावना बढ्नु तथा कमजोर वर्गले पनि चाडपर्वको खुसी अनुभव गर्न पाउनु असाधारण पक्ष हो । दशैँले यो असम्भवलाई सम्भव तुल्याएको छ, देखिन्छ ।

सांस्कृतिक पहिचान र परम्पराको संरक्षण

कसैले मान्नु वा नमान्नु उसको मौलिक र नैसर्गिक कुरा हो । तर, घटस्थापनादेखि आरम्भ भएको दशैँमा प्रयोग हुने टीका, जमरा, आशीर्वचन, पारिवारिक भेटघाट, परम्परागत खानपान र सांस्कृतिक गतिविधिले नेपाली समाजको रैथाने सांस्कृतिक जीवनलाई निरन्तरता दिन मद्दत गर्छ भन्ने यथार्थलाई सबैको स्वीकार गरेका छन् । दशमी तिथिलाई दशैँ अर्थात् विजयादशमी मान्नेले पनि दशैँ, बडादशैँलाई नेपालीको विशिष्ट पक्षको पहिचानका रूपमा स्वीकार गरेका छन् ।

परम्परागत यसका मौलिक पक्षलाई समयसापेक्ष र सकारात्मक बनाउने प्रयत्नका साथ यो अवसर प्रयोग गर्ने हो भने सांस्कृतिक पहिचानउन्मुख जीवनको निरन्तरता, पृथक पहिचानको संरक्षण र पुस्ताबीच सांस्कृतिक ज्ञानको हस्तान्तरण पनि हो दशैँ ।

यसरी दशैँ मनाइरहँदा परिवारको सांस्कृतिक पहिचान कायम रहनुका साथसाथै मौलिक परम्परा र स्थानीय सांस्कृतिक अभ्यासको संरक्षण हुन्छ । यो अभ्याससँगै परम्परागत विधि र संस्कारबारे नयाँ पुस्ताले सिक्ने अवसर पाउने र अभ्यस्त हुने रहेछ । यहाँबाट समाजको सांस्कृतिक विविधताप्रति चेतना बढ्छ र लगाव वृद्धि हुन्छ ।

परम्परागत यसका मौलिक पक्षलाई समयसापेक्ष र सकारात्मक बनाउने प्रयत्नका साथ यो अवसर प्रयोग गर्ने हो भने सांस्कृतिक पहिचानउन्मुख जीवनको निरन्तरता, पृथक पहिचानको संरक्षण र पुस्ताबीच सांस्कृतिक ज्ञानको हस्तान्तरण पनि हो दशैँ ।

पारिवारिक संवाद र भावी योजनाको अवसर 

दशैँको अवसरमा वा दशैँ शीर्षकमा परिवारका अधिकांश सदस्यहरू एकै ठाउँमा भेला हुने गरिन्छ । यो भेला अर्थात् जमघतमा व्यक्तिगत तथा पारिवारिक महत्त्वका विषयमा बिचार, विमर्श र छलफल हुने रहेछ ।

म स्वयं एकजोडी बुवा–आमाको कोखबाट जायजन्म भएका ७ जना जीवित सन्तानमाझको माइँलो । सबैजनालाई एकै ठाउँमा देख्न र भेट्न दशैँलगायत चाडपर्व पर्खनुपर्छ । फेरि पनि जम्मा हुन सकिँदैन । कहिले को छुट्ने, कहिले को छुट्ने भइरहन्छ । यसपटक हामी जम्मा भएजतिका जिम्मेवारले आफ्ना अनुभवहरू पोखापोख गरेका छौँ, बालबालिकाको पढाइलेखाइ र तिनको भविष्यका बारेका छलफल चलाएका छौँ, जीवनको बुढेशकालीन उत्तरार्धलाई कसरी सहज बनाउने भनेर बुवा–आमाको दैनन्दिन हेरचाह र स्वास्थ्यसम्बन्धी आवश्यकता गृहकार्य गरेका छौँ ।

देशभित्रै रोजगारी सिर्जना गर्ने, व्यवसाय गर्ने र आयआर्जन गर्ने सम्भावनाबारे अलिअलि सल्लाह गरेका छौँ । भविष्यप्रति चिन्तित यो परिवारको एउटा साझा लक्ष्य र गन्तव्य तय गरौँ भनेर प्रयत्न गरेका छौँ । यो सबै सन्दर्भ दशैँले मात्र जुराएको हो, जुटाएको हो ।

दशैँ कस्तो रह्यो ? कति भव्य रूपमा मनाइयो ? प्रश्नोत्तर चलाउनेभन्दा पनि दशैँले हाम्रो परिवार, सम्बन्ध र सामाजिक जीवनमा कति आत्मीयता, सद्भाव, सहयोग र सकारात्मक परिवर्तन थप्यो भन्ने कुरा बढ्ता महत्त्वपूर्ण हुने रहेछ ।

आत्मसमीक्षा र दिशा दिने दशैँ

दशैँलाई केवल मनोरञ्जन र उपभोगको पर्वका रूपमा मात्र नलिने हो भने यसले आफ्नो जीवन र व्यवहारको समीक्षा गर्ने अवसर पनि प्रदान गर्दो रहेछ । आत्मसमीक्षाको जगमा उभिएर जीवनलाई सकारात्मक दिशामा अघि बढाउने अवसर र संकल्पका रूपमा पनि दशैँलाई लिन सकिने रहेछ ।

फजुल खर्चिलो र देखावटीमा आधारित भएर होइन, एकदमै मौलिक दशैँको उल्लासमा विगतका कमजोरी खोतल्न र गल्तीको समीक्षा गर्न सकिन्छ । पारस्पारिक सम्बन्धमा आफूले निर्वाह गरेको भूमिकाबारे सोच्न सकिन्छ । खराब बानी त्याग्ने र असल आचरण अपनाउने दृढ अठोट गर्न सकिने रहेछ । आफ्नो भूमिकालाई परिवार, समाज र राष्ट्रप्रतिको कसरी थप बढी जिम्मेवार बनाउने जिम्मेवारीबोधका साथ कार्यारम्भ गर्न सकिन्छ ।

यसरी हेर्दा– दशैँ कस्तो रह्यो ? कति भव्य रूपमा मनाइयो ? प्रश्नोत्तर चलाउनेभन्दा पनि दशैँले हाम्रो परिवार, सम्बन्ध र सामाजिक जीवनमा कति आत्मीयता, सद्भाव, सहयोग र सकारात्मक परिवर्तन थप्यो भन्ने कुरा बढ्ता महत्त्वपूर्ण हुने रहेछ ।

Back to top button