संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा नेपाल १७३ मतसहित निर्वाचित

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ । न्युयोर्कमा भएको निर्वाचनमा नेपालले १८० मतमध्ये १७३ मत प्राप्त गरेको हो । एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित राष्ट्रमध्ये नेपालले सबैभन्दा बढी मत पाएको छ ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले निर्वाचनमा समर्थन गर्ने सबै सदस्य राष्ट्रप्रति आभार व्यक्त गरेको छ । नियोगले मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन र बहुपक्षीय सहकार्यप्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै नयाँ कार्यकालका लागि निर्वाचित अन्य राष्ट्रलाई पनि बधाई दिएको छ ।

नेपाल यसअघि सन् २०१८–२०२० र २०२१–२०२३ मा परिषद्को सदस्य रहिसकेको छ । नयाँ कार्यकाल सन् २०२७ जनवरी १ देखि सुरु हुनेछ । मानवअधिकारको संरक्षण र प्रवर्द्धनका लागि काम गर्ने परिषद्मा ४७ सदस्य राष्ट्र रहने व्यवस्था छ ।

Back to top button