
विराटनगर । विराटनगरमा गएराति दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा प्रहरी जवानसहित दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–७ स्थित शनिमन्दिर अगाडि कोशी राजमार्गमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
बरगाछीबाट रोडशेषतर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ६८४४ नम्बरको मोटरसाइकल र जलजला चोकबाट शनिमन्दिरतर्फ सडक पार गर्दै गरेको प्रदेश १–०२–०५६ प ५७१९ नम्बरको मोटरसाइकल बिहीबार राति ठोक्किएका थिए ।
दुर्घटनामा सुनसरीको बर्जु गाउँपालिका–५ का २१ वर्षीय सुजित नारायण मेहता घाइते हुनुभएको छ । उहाँको घाँटी र खुट्टामा चोट लागेको छ । पारस अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उहाँलाई विराट नर्सिङ होम पठाइएको छ। उहाँको अवस्था मध्यम छ ।
त्यस्तै, अर्को मोटरसाइकलका चालक २५ वर्षीय प्रहरी जवान युगल मगर पनि घाइते हुनुभएको छ । भोजपुरको आमचोक गाउँपालिका–८ घर हुनुभएका मगर कोशी प्रदेश प्रहरी तालिम केन्द्र, रानी विराटनगरमा कार्यरत हुनुहुन्छ । उहाँको खुट्टामा चोट लागेको छ । कोशी अस्पतालमा उपचाररत उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।







