
एजेन्सी । चीनले प्रक्षेपण गरेको जुरोङ रोभर नामक अन्तरिक्ष यानले मंगल ग्रहमा अवतरण गरेको छ । यससँगै चीन मंगलग्रहमा सफलतापूर्वक रोभर अवतरण गराउने दोस्रो मुलुक बनेको छ।
६ वटा पाङ्ग्रा भएको सो रोभर मंगल ग्रहको उत्तरी गोलार्धमा अवतरण भएको जानकारी चिनियाँ अधिकारीहरूले बीबीसीलाई दिएका छन्। मंगल ग्रहमा अवतरण भएको रोभरको तौल २४० किलोग्राम रहेको छ ।
क्यामेरा जडान गरिएको त्यस यानले त्यहाँको सतह तथा सतहभित्रको भौगर्भिक अवस्थाको अध्ययन गर्ने चीनले जानकारी दिएको छ।
रोभरमा अन्य पाँचवटा उपकरण पनि जडान गरिएको छ । जसले मंगल ग्रहमा हिउँ भए र नभएको तथा त्यहाँका ढुंगाभित्र रहेका खनिज पदार्थ परीक्षण समेत गर्नेछ।
चीनले दोस्रो प्रयासमा मंगलग्रहमा रोभर पुर्याउन सफल भएको हो। यसअघि सन् २०११ मा रूस र चीनले संयुक्त रूपमा गरेको यान प्रक्षेपण विफल भएको थियो।
चीनअघि अमेरिकाले मात्रै मंगल ग्रहमा रोभर अवतरण गराउन सकेको छ। यतिखेर अमेरिका र युएईले पनि मंगलग्रहतर्फ रोभर पठाएका छन् । ती रोभर हाल अन्तरिक्षमै छन् ।