अफगानिस्तानको कन्दहार विद्रोही तालिबानको नियन्त्रणमा

विद्रोही तालिबान समूहले रातभरको संघर्ष पश्चात् कन्दहार जिल्लालाई आफ्नो नियन्त्रणमा लिएको छ । अमेरिकी सेनाले यही जुलाई महिनाभित्रै अफगानिस्तान छाड्ने तयारी गरेसँगै तालिबान समूहले अफगानी सरकारी सेनाविरुद्ध आक्रामक कारबाहीलाई तिब्र बनाएको छ ।

कन्दहारलाई तालिबानी समूहले आफ्नो प्रमुख गढको रुपमा लिने गर्दछन् । गत मे महिनादेखि नै अफगानिस्तानका ग्रामीण क्षेत्रहरुलाई तालिबान समूहले आफ्नो नियन्त्रणमा ल्याउने अभियान सञ्चालन गरिरहेको छ ।

विगत केही वर्षदेखि तालिबान र अफगान सैनिकबीच पन्जवाई जिल्लालाई नियन्त्रणमा लिन पटक पटक संघर्ष हुँदै आएको छ । कन्दहार प्रान्तलाई तालिबान समूहले आफ्नो जन्मभूमिका रुपमा लिने गरेको छ ।

पञ्जवाई जिल्लाका गभर्नर हास्ती मोहम्मदले तालिबान समूह र अफगान सेनाबीच रातभर गोली हानाहान भएको र बिहान अफगान सेनाले जिल्ला छाडेको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

Back to top button