ओस्कारका लागि नेपाली फिल्मको आवेदन खुल्ला

काठमाडौं । ९४ औं द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेज अस्कारमा नेपालको तर्फबाट सहभागी फिल्मका लागि आवेदन खुल्ला गरिएको छ । अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति नेपालले एक विज्ञप्तिमार्फत आवेदन खुल्ला भएको जनाएको हो ।

अवार्डका लागि १९ असोजदेखि २ कात्तिकसम्म एकेडेमीले तोकेका सबै मापदण्ड सहित फिल्म दर्ता गराउनुपर्नेछ । सन् २०२२ मार्च २७ तारिख आइतबारका दिन अमेरिकाको लस एन्जेलस्को डल्बी थिएटरमा ९४ औं एकेडेमी अवार्ड द अस्कर अवार्ड प्रदान गरिँदैछ ।

हरेक वर्ष फेब्रअरीमा हुँदै आएको यो अवार्ड यसपटक कोरोना महामारीका कारण एक महिना ढिला आयोजना हुन लागेको हो । कोरोना महामारीका कारण रिलिज हुन नसकेको फिल्मका लागि पनि यो साल अस्कर अवार्ड केही लचिलो बनेको हो।

पहिले फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम भएपनि यो साल कोरोनाका कारण हल बन्द भइ रिलिज हुन नसकेका फिल्मले समेत ओस्कारको प्रतिस्पर्धामा सामेल हुन पाउने भएका छन् । ओस्कारका लागि नेपाली फिल्म छनोट गर्ने समितिको अध्यक्ष विमल पौडेल ले गर्नुहुनेछ भने राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय लगायतको समिति छ ।

Back to top button