विराटनगर । नेपाल मुद्रण उद्योग सङ्घको चौथो जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । विराटनगरको होटल एसियाटिकमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा सुभाष कार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।
यस्तै समितिको उपाध्यक्षमा दिलिप अटल, सचिवमा बलराम गिरी (नविन) , सह–सचिवमा कृष्ण ओझा र कोषाध्यक्षमा धर्मराज ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
सदस्यहरूमा हरिप्रसाद दाहाल, गोकुल कार्की, राकेश गिरी र नदीम दानिस जमाली चुनिएको सचिव बलराम गिरिले जानकारी दिनुभयो । नव निर्वाचित कार्यसमितिको २ वर्ष कार्यकाल रहने गरेको छ ।
निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक राजन पाठकले सपथग्रहण गराउनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल मुद्रण उद्योग महासंघका निवर्तमान अध्यक्ष माधव केसीले छपाईको कामलाई राज्यले केन्द्रिकृत गर्दै विभेद गरेको भन्दै मोफसलसम्म विकेन्द्रिकृत गर्नुपर्ने बताउनुभयो ।
उहाँले मोफसलमा पनि छपाईका लागि आवश्यक सम्पूर्ण पूर्वाधार रहेपनि सरकारले केन्द्रिकृत गरेको तथा पुस्तक छपाईको कामलाई पनि थप प्रभावकारी र छिटो छरितो बनाउन निजी क्षेत्रको सहभागिता रहेकोमा जोड दिनुभयो ।