मिस नेवाः को पहिलो अडिसन विराटनगरमा सम्पन्न

विराटनगर । प्रदेश–१ स्तरीय मिस नेवाः ११४२ को चौथो संस्करणको पहिलो अडिसन विराटनगरमा सम्पन्न भएको छ ।

नेवारी समुदायका युवतीहरुको प्रतिभा प्रस्फुटन गराउँदै नेवारी संस्कृतिको प्रचारप्रसार र जगेर्ना गर्ने उद्देश्यका साथ मिस नेवाः आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रदेश–१ का प्रमुख सहरहरुमा अडिसन हुने आयोजक मन्जिना मुभिज क्रियशनका निर्देशक जतिन ताम्राकारले जानकारी दिनुभएको छ । पहिलो अडिसनमा १५ जना नेवारी समुदायका युवतीहरुले सहभागिता जनाएका थिए ।

पहिलो अडिसनका निर्णायकहरुमा झि पुचःका पूर्वअध्यक्ष जयन्त प्रधानाङ्ग, कवि एवं पत्रकार मीनकुमार नवोदित, सञ्चारकर्मी रस्मिता उदास, झि पुचःका सल्लाहकार लुना श्रेष्ठ र पर्शुराम तिमिल्सिना रहनुभएको थियो ।

‘नेपा संस्कृति नेपाया गौरव’ भन्ने मुल नाराका साथ नेवारी संस्कृति संरक्षणका लागि हरेक वर्ष मिस नेवाः आयोजना हुँदै आएको छ । ताम्राकारका अनुसार यस वर्षको मिस नेवाः सौन्दर्य प्रतियोगिता भने माघ ७ गते विराटनगरमा हुने भएको छ ।

मिस नेवाःको विजेतालाई ग्रेटाको स्कुटर र ज्योती लाइफ इन्स्योरेन्सबाट १५ लाखको बिमा सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ ।

विराटनगरको अडिसनपछि धरान, विर्तामोडसहित प्रदेश–१ का विभिन्न सहरमा अडिसन हुने निर्देशक ताम्राकारले जानकारी दिनुभयो । यसअघि तत्कालीन कोशी अञ्चलस्तरीय हुँदै आएको यो प्रतियोगितालाई यसपटकदेखि प्रदेश–१ स्तरीय बनाइएको हो ।

Back to top button