रोकियो मञ्चनरत ‘पुतलीको घर‘

काठमाडौं । आरोहण गुरुकुलको पुनरागमनपछिको पहिलो नाटक ‘पुतलीको घर‘ को मञ्चन रोकिएको छ। कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि आज देखि नाटक मञ्चन स्थिगित भएको हो।

गत माघ १ गते सुरु भएको नाटक २२ गतेसम्म मञ्चन हुने भनिएको थियो। तर, कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्र गतिमा फैलन थालेपछि आरोहण गुरुकुलले आज मञ्चन रोक्ने निर्णय गरेको हो।

आज प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आरोहण गुरुकुलद्वारा सञ्चालन भइरहेको र हुने सबै प्रदर्शन तत्कालका लागि स्थगन गरिएको जनाइएको छ। सुनील पोखरेलको निर्देशनमा तयार भएको नाटक गुरुकुलको सबैभन्दा सफल नाटकमध्ये एक हो।

पुतलीको घर नर्वेली नाटककार हेनरिक इब्सनको विश्वचर्चित नाटक ‘अ डल्स हाउस‘ को नेपाली अनुवाद हो। यसको अनुवादक निर्देशक पनि पोखरेल नै हुनुहुन्छ ।

दश वर्षपछि फेरि रंगमञ्चमा फर्किएको आरोहण गुरुकुलले पुतलीको घर मञ्चन गर्दै औपचारिक रुपमा पुनरागमन गरेको थियो।

Back to top button