भारतमा एक दिनभित्र थप २ लाख ३४ हजार संक्रमित

काठमाडौं । छिमेकी देश भारतमा पछिल्लो एक दिनभित्र थप २ लाख ३४ हजार २ सय ८१ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

आज बिहान भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २ सय ८१ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ८ सय ९३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।

त्यस्तै, भारतभर पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजार ७ सय ८४ जना संक्रमित निको भएका छन् । हाल भारतमा १८ लाख ८४ हजार ९ सय ३७ जना सक्रिय संक्रमित छन् ।

यसबाहेक, दैनिक र साप्ताहिक संक्रमण दर क्रमशः १४ दशमलव ५ र १६ दशमलव ४ प्रतिशत रहेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

यसैबीच, भारतका स्वास्थ्य मन्त्री मनसुख मन्डाभियाले ७५ प्रतिशत वयस्कले कोभिड खोपको पूर्ण डोज लगाएको बताउनुभएको छ । पूर्ण खोप लगाउनेको संख्या ७५ प्रतिशत पुगेको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई बधाइ दिनुभएको छ ।

‘७५ प्रतिशत वयस्कले पूर्ण खोप लगाउनु भएको छ’, मोदीले ट्विटरमा लेख्नुभएको छ, ‘यो ऐतिहासिक सफलताका लागि हाम्रा नागरिकलाई बधाई । हाम्रो खोप अभियानलाई सफल बनाउनु हुने सबैप्रति गर्व छ ।’

Back to top button