इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज (फागुन १ गते) अन्तिम दिन रहेको छ। कम्पनीले माघ २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो। कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरेको हो।

कम्पनीले निष्काशन गरेको कुल ५ लाख ५५ हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल कम्पनीको चुक्ता पूँजी ५० करोड ४० हजार रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ।

Back to top button