भारतको ट्वीन टावर आज भत्काइदै

भारतमा दिल्लीको छेउमा रहेको नोएडाको सेक्टर ९३ एमा रहेको प्रसिद्ध ट्वीन टावर भत्काउने सबै तयारी पूरा भएको छ । आज दिउँसो २ः३० बजे मात्र १२ सेकेन्डमा यी दुवै टावर भग्नावशेषमा परिणत हुने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

रियल इस्टेट कम्पनी सुपरटेकले यी टावरहरू भत्काउनुअघि धेरै क्रेन त्यहाँ पुगिसकेका छन्। भवन भएको क्षेत्र खाली गर्न प्रहरी सक्रिय रहेको छ । धेरै गैरसरकारी संस्थाहरू भवन नजिकै बस्ने कुकुरहरूलाई बचाउन एकसाथ काम गरिरहेका छन्।

एपेक्स र केएन नामका टावरहरू सुपरटेक बिल्डरले बनाएका थिए। यी ३० तले भवनलाई ट्वीन टावर पनि भनिन्छ। यी टावरको उचाइ ३२० फिट भन्दा बढी छ। भारतमा हालसम्म भत्काइएका मध्ये सबैभन्दा ठूलो भवन यही हुनेछन् ।

यी नोएडाको घना बस्तीमा अवस्थित छन्। यो भवन भत्काउन लगभग ३७०० केजी विस्फोटक पदार्थको प्रयोग गरिने छ। सावधानीलाई ध्यानमा राख्दै यी भवन नजिक रहेका मानिसहरूलाई घर खाली गर्न पनि भनिएको छ ।

ती भवनलाई अवैध भएर भत्काउन लागिएको हो। टावरहरू विस्फोटक पदार्थको प्रयोग गरेर भत्काइने छ। यसलाई इम्प्लोसन टेक्नोलोजी भनिन्छ। अगस्ट २०२१ मा भारतको सर्वोच्च अदालतले ट्विन टावरहरू भत्काउन आदेश दिएको थियो।

यी टावर भत्काउनको लागि नजिकैका दुई सोसाइटीका करिब पाँच हजार बासिन्दाले घर खाली गरेका छन् । ट्विन टावर भएको ५०० मिटर भित्र कसैलाई पनि प्रवेश गर्न दिइएको छैन ।

स्ट्रक्चरल इन्जिनियरिङ इन्डिया लिमिटेडका महाप्रबन्धक सुदीप पलले अग्लो भवन भत्काउन यो प्रविधि प्रभावकारी भएको बताउनुभएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

Back to top button