नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा ९ जना पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पाँचथरको मिक्लाजुङ्ग गाउँपालिका–६ घर भई झापाको दमक– ५ बस्ने २५ वर्षीय समिर राई, दमक नगरपालिका–८ घर भएका ४८ वर्षीय सूर्य बहादुर श्रेष्ठ, मेचीनगर नगरपालिका–६ घर भएका ४६ वर्षीय बिदुर प्याकुरेल, विर्तामोड नगरपालिका–५ घर भएका ४० वर्षीय दिनेश प्रसाई रहेका छन् ।

यस्तै पोखरा महानगरपालिका–१० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी –९ घर भई काठमाडौं टोखा बानियाटार बस्ने २५ वर्षीया राधिका तामाङ, स्याङ्जा चापाकोट –२ घर भई काठमाडौं बसुन्धारा बस्ने ३८ वर्षीया सबिता श्रेष्ठ, काठमाडौं कागेश्वरी घर भएका २१ वर्षीय सुरज राज खत्री, अछाम मंगलसेन –१२ घर भएका २७ वर्षीय वीरेन्द्र बहादुर रावललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

नेपालस्थित अमेरिकन दूतावासमा ईडीभी २०२१ को नतिजामा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केही व्यक्तिहरुले भिसा प्रयोजनको लागि प्लसटुको नक्कली एकेडेमिक ट्रान्सकिप्ट बनाई पेश गरेको प्रहरीको आरोप छ ।

पक्राउ परेका उनीहरुमाथि लिखत सम्बन्धि कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।

Back to top button