प्रदेश १ का वनमन्त्री थापामा डेंगी संक्रमण

विराटनगर । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापालाई डेंगी संक्रमण भएको छ। नेपाली कांग्रेसका नेतासमेत रहनुभएका थापाले सामाजिक सञ्जालमार्फत आफूलाई डेंगी संक्रमण भएको र हाल उपचारमा रहेको बताउनुभएको छ ।

हाल उहाँ विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । आज बिहान अस्पताल भर्ना हुनुभएका थापालाई अस्पतालमा दुई दिनसम्म उपचारका क्रममा राखिने बताइएको छ।

उहाँमा हाल ज्वरो घटीबढी हुने क्रम रहेको बताइएको छ। तर आज दिउँसोबाट ज्वरो कम हुँदै गएको चिकित्सकले बताएका छन्।

आउँदो मंसिर ४ गतेको निर्वाचनमा कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ को ‘क’ बाट प्रदेश सभामा उम्मेदवारी दिनुभएका थापामा हिजोबाट लक्षण देखिएको थियो।

यस्तै, सामाजिक सञ्जालमा उहाँले उम्मेदवारी मनोनयन दर्तापश्चात जनताको घर आँगनमा उपस्थित हुनुपर्नेमा केहीदिनको उपचारपछि नियमित भेटमा आउने बताउनुभएको छ ।

विगत ३५ वर्षदेखिको निरन्तर राजनीतिक यात्रा रहेको बताउँदै उहाँले अहिलेको अवस्था र बाध्यतालाई बुझिदिन अपिल गर्नुभएको छ । यसअघि उहाँ क्षेत्र नम्बर ३ बाट समानुपातिकबाट प्रदेश सभा सदस्य बन्नुभएको थियो।

Back to top button