नेकपा एमालेको प्रदेशस्तरीय प्रतिवद्धतापत्र सार्वजनिक

विराटनगर । मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा (एमाले) प्रदेश १ कमिटीले आज ‘प्रतिबद्धतापत्र’ सार्वजनिक गरेको छ । २८ पृष्ठको प्रतिबद्धतापत्रमा २६ बुँदामा प्रादेशिक विकासका मुख्य एजेण्डाहरु समेटिएको छन् ।

प्रदेशलाई आत्मनिर्भर बनाउने, संविधानप्रदत्त अधिकारहरुको प्रदेशअन्तर्गत ल्याउने, प्रदेशको नामकरण र प्रादेशिक संरचना निर्माण गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

यसैगरी विराटनगरलाई आर्थिक राजनीतिमा रुपान्तरण गर्ने, पहाडी र हिमाली जिल्लामा विभिन्न अवसर सिर्जना गरी बसाइँ सराई दर घटाउने, प्रदेशस्तरीय खुला चिडियाघर सञ्चालन गर्ने, जलवायु परिवर्तन र अनुकूलका योेजनाहरु सञ्चालन गर्ने जनाइएको छ ।

कृषिमा आधुनिकीकरण गर्ने तथा बृहत विराट क्षेत्रसम्बन्धी ऐन सञ्चालनमा ल्याउने लगायतका योजनाहरु प्रतिबद्धता पत्रमा अटाइएका छन् । प्रतिबद्धता पत्रमा विराटनगर शासन प्रणालीमा सुधार, पहाडी व्यापारिक केन्द्र निर्माण र आर्थिक विकासका योजनाहरुलाई प्राथमिकता दिइएको छ ।

प्रतिबद्धता पत्रमा आर्थिक अनुशासन र भ्रष्ट्राचारमा शुन्य सहनशीलता लगायत बिषयलाई पनि प्राथमिकतामा राखिएको प्रतिबद्धता पत्र तयारी समितिका सचिव यज्ञराज शर्माले बताउनुभयो ।

आफ्नो ३ वर्षे कार्यकालमा गरेका कार्यहरुलाई प्रमुख उपलब्धिको रुपमा विश्लेषण गरेको एमालेले पुरा हुन नसकेको केही योजनाहरुलाई समेत आगामी कार्यकालमा पूर्णता प्रदान गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ ।

धार्मिक एवं सांस्कृतिक सर्किटको विकास, विद्युत उत्पादन तथा पर्यटन प्रवर्द्धन, पहाडी जिल्लामा नियमित हवाई सेवा सञ्चालन, गरिबीको रेखामुनिका नागरिकलाई परिचयपत्र वितरण, डिजिटल साक्षरता, मानव संशाधन विकास बैंक स्थापना, विपन्न परिवारका छोरीको निरन्तर शिक्षाका निम्ति छोरी शिक्षा बिमा र बाढीग्रस्त क्षेत्रमा तटबन्धन निमार्णका योजनाहरु समेत एमालेले अघि सारेको छ ।

एमालेले मध्यपहाडी लोकमार्गका क्षेत्रमा अर्गानिक कृषि उत्पादन र हाइ अल्टिच्युड खेल सञ्चालनका निम्त्ति पूर्वाधार निर्माणको प्रतिबद्धता एमालेको छ । कार्यक्रममा बोल्दै एमाले प्रदेश कमिटीका सह–इन्चार्ज जीवन घिमिरेले प्रतिबद्धता मार्फत् एमालेले प्रदेशलाई विकास र समृद्धिको बाटोतर्फ डोर्‍याउन खोजेको बताउनुभयो ।

पछिल्लो ५ वर्षको समीक्षा गर्दै उहाँले शून्यबाट सुरु भएको प्रदेश सरकारले एउटा आकार ग्रहण गर्नु उपलब्धिमूलक भएको बताउनुभयो । एमालेको प्रतिबद्धता पत्रमा रोजगारी बैंकमार्फत बेरोजगार युवाहरुलाई रोजगारी प्रदान र वैदेशिक रोजगारीमा जान चाहने नागरिकका लागि ‘मेरो पसिना, मेरो प्रदेश’ कार्यक्रम सञ्चालन गर्ने विषय समेत उल्लेख गरिएको छ ।

एमालेले सूचना प्रविधिमा आधारित आधुनिक सुरक्षा व्यवस्था र तथ्यांक केन्द्र अर्थात् डाटा बैंक स्थापनाको विषयलाई समेट समेटेको छ । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, केन्द्रीय सदस्य रामलाल साह र प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेलगायतको सहभागीता थियो ।

Back to top button