१७ पुष अघि नै प्रदेश १ मा नयाँ सरकार गठन हुने

विराटनगर । प्रदेश १ मा पुष १७ अघिनै नयाँ सरकार गठन हुने भएको छ । संसदको पहिलो अघिबेशन पुष १७ गते दिउँसो १ बजेका लागि प्रदेश प्रमुखले आह्वान गरिसकेपछि त्यस अघि नै सरकार गठन भइसक्नुपर्ने बाध्यात्मक परिस्थितीको सृजना भएको थियो ।

निर्वाचनको अन्तिम मतपरिणाम बुझाएको २० दिनभित्र संसद आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार १७ पुषका लागि पहिलो बैठक आह्वान भएको हो ।

२० दिनको समयसीमा पुष १८ गते पुग्ने भएपछि १७ गतेका लागि बैठक आह्वान भएको जानकारी दिँदै प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्रकुमार श्रेष्ठले भन्नुभयो,‘सरकार गठनका लागि पनि चाँडै आह्वान हुन्छ ।’

प्रदेश प्रमुख सरकार गठनको आह्वान गर्न छलफलमा नै रहेकाले आजभोली नै आह्वान हुनसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘सबै काम समयभित्र नै हुन्छ होला, राजनितिक दलहरु तयार भए तत्काल सरकार गठन हुन सक्छ ।’

संसदमा सत्ता पक्ष र प्रतिपक्ष हुनुपर्ने र त्यसकालागि अहिलेको सरकारले सत्ता पक्ष भएर संसदमा कुनै बिजनेश ल्याउन नसक्ने भएपछि पहिलो बैठक अघि नै सरकार गठन भइसक्नुपर्ने बाध्यात्मक परिस्थिती सृजना भएको नेकपा एमालेका नव निर्वाचित प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले बताउनुभयो ।

Back to top button