प्रदेश १ मा माओवादी केन्द्रले मुख्यमन्त्री दाबी गर्ने

विराटनगर । नेकपा माओवादी केन्द्रको प्रदेश १ कमिटीले यस प्रदेशमा मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको प्रदेश १ पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले विज्ञप्ति जारी गर्दै प्रदेश सरकार गठन र अन्य पार्टीसँगको सहकार्यका लागि वार्ता समिति समेत निर्माण गरेको उल्लेख गर्नुभएको छ ।

‘प्रदेश सरकारको नेतृत्व हाम्रो पार्टीले पाउनुपर्ने मागदाबीसहित पार्टीको शीर्ष नेतृत्व र सत्तासाझेदार दलहरुसँग छलफललाई अगाडि बढाउने निर्णय गरियो,’ विज्ञप्तिमा उल्लेख छ ।

यस्तै प्रदेश सरकार गठन र अन्य सहकार्यका लागि पार्टीको तर्फबाट माओवादीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज राम कार्कीको संयोजकत्वमा वार्ता समिति समेत गठन गरेको छ । समितिका अन्य सदस्यहरुमा इन्द्रबहादुर आङ्बो र हर्कबहादुर नेम्वाङ रहनुभएको छ ।

प्रदेश १ प्रदेशसभामा ९३ जना सांसद छन् । जसमा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक जना सांसद निर्वाचित भएका छन् ।

Back to top button