प्रदेश १ को दोस्रो कार्यकालको पहिलो बैठक आज बस्दै

विराटनगर । प्रदेश १ प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक आज बस्दै छ । विराटनगरस्थित प्रदेशसभा भवनमा संसद (प्रदेशसभा)का ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डलको अध्यक्षतामा बैठक दिउँसो १ बजे बस्न लागेको हो।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम नयाँ संसदको पहिलो अधिवेशन आह्वान गर्नुभएको थियो।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र बाचन गर्ने र प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन)समेतलाई अंगीकार गरी बैठक सञ्चालन प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ।

कार्यसूची अनुसार प्रदेश प्रमुखबाट जारी सरकारको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश २०७९, सभामा सम्बन्धित मन्त्रीले टेबल गर्ने छन्।

यस्तै, ९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना सांसद छन्।

Back to top button